मधेस मुख्यमन्त्रीसिंहले विश्वासको मत लिने तयारीमा

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ ।

संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

मुख्यमन्त्री सिंहले आउने २१ गते नै विश्वासको मत लिने सरकारले तयारी गरेको बताए । उनले भने,‘हामी विश्वासको मत अझ अगाडि नै लिन्थ्यौँ, तर सत्तारुढ दल एकीकृत समाजवादीको यहीबिचमा महाधिवेशन छ । त्यो पार्टीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेका छन्, त्यसकारण हामीले उनीहरूको आग्रहलाई मध्यनजर गर्दै २१ गते विश्वासको मत लिने तयारी गरेका छौँ ।’

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री सिंहले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ । प्रदेश प्रमुखको कार्यालयमा बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए ।

त्यस बखत मुख्यमन्त्री सिंहले एमाले, माओवादी, जनमत,एकीकृत समाजवादी, राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । त्यहीअनुसार अहिले मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारमा मन्त्रीमण्डल पनि विस्तार गरेका छन् । यो अङ्कगणितले मुख्यमन्त्री सिंहको सरकारले विश्वासको मत पाउने पक्का छ ।

कारण–मधेस प्रदेशमा अहिले ६ दल मिलेर सरकार गठन भएको छ । त्यस अनुसार प्रदेश सभामा एमालेका २४, माओवादीका ९, जनमतका १३, एकीकृत समाजवादीका ७, राप्रपाका १ र नेपाल सङ्घीय समाजवादीका एक जना प्रदेश सांसद छन् ।