नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गरेका सबै आठ जना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन् ।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री दाहाललाई पठाएका थिए । अध्यक्ष तथा संसदीय दलका नेता ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा ९एमाले० को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ ।’



















