नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्तो निर्णय नगर्न भनेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ ।’ साथै, एमालेले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत समेत पाउने अवस्था नरहेको जनाएको छ । पछिल्लो समय एमाले र कांग्रेसबीच नयाँ सत्ता साझेदारी गर्ने समझदारी भएको छ ।



















