धारिलो हतियार प्रहारबाट विराटनगरमा एक युवकको हत्या, दुई जना गम्भीर घाइते

मोरङस्थित विराटनगरमा एकजना युवकको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ भने कटहरी-१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । प्रहरीका अनुसार मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ ।

प्रहरीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका-२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । प्रहरीले उनीहरुलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ । प्रहरीका अनुसार उनीहरुको शरीरमा धारिलो हतियारले घोपेको चोट छ ।

घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । उनीहरु आफैंआफैं झगडा गरेको पनि हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलबाट एउटा मोबाइल बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।