नबिल बैंक ४१औँ वर्षमा प्रवेश

नबिल बैंक ४१औँ वर्षमा प्रवेश गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनायो ।

वार्षिकोत्सव कार्यक्रममा दिगो विकासमा बैंकिङको भूमिका भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा.पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो ।

अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए । बैंकले सुरू गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, सेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिए । बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायतका कार्यक्रम तय भएको उनले बताए ।

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन् । सामाजिक उद्यमी अनिल चित्रकारले नबिल जस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

हाल बैंकले देशभर दुई ६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।