श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा पर्व आज हर्ष उल्लासका साथ मनाइदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा पर्व आज नेपालका साथ-साथै भारतमा पनि ठूलो हर्ष उल्लासका साथ मनाइदै छ । नेपालमा जनै पूर्णिमामा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ । भारतमा यो पर्वको दिन दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ ।

पूर्णिमाका दिन बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । यसरी विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरे जसले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रति बध्नामि रक्षे माचल माचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वणर्का तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (जनै) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
जनै पूर्णिमामा बारे पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । भविष्य पुराणमा लेखिएको अनुसार देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले । देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।

त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे । राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुणर् आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।

बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।

भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने
थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।

नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरु उल्लेख छ । अहिले देशमा धार्मिक रुपमा मानिर्दै आएका कयौं परम्पराहरु मासिर्दै गएका र कयौं परम्पराहरु मानि आएपनि विकृत रुपमा मनाउने गरिएको वर्तमान सन्र्दभमा धार्मिक महत्वका पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्न तिर जोड दिने हो कि !