स्थानीय तह निर्वाचन भएको अढाई वर्ष नहुँदै देशको ३४ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । जनप्रतिनिधिको रिक्तताले गर्दा उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने जनाएको छ । त्यसका लागि मिति भने असोजको पहिलो साता तोक्ने तयारी भएको प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार उपनिर्वाचनको मिति तोक्नेबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग परामर्श लिएका छन् । प्रधानमन्त्री र गृहमन्त्री दुवै जना मंसिरको तेस्रो साता उपनिर्वाचन गराउन सकारात्मक छन् । आयोगका प्रवक्ता सापकोटाले सानन्यूजसँग भने, ‘मृत्यु वा अन्य कारणले जनप्रतिनिधिको रिक्ततता हुँदा स्थानीय तहको कार्यसम्पादनमा असहजता निम्तिएको छ । त्यसले गर्दा छिटो उपनिर्वाचन गर्नुभएको छ । यसबारे प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक देखिनुभएको छ ।’
आयोगले अहिले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा पदको विवरण सङ्कलन जारी राखेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयललाई आयोगले पछिल्ला दिनमा कोही जनप्रतिनिधिको निधन भएको भए जानकारी दिन पत्राचार गरिसकेको छ । मतदाता नामावली अद्यावधिक भने यसअघिदेखि नै भइरहेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको सापकोटाले बताए ।
आयोगका अनुसार उपनिर्वाचन गर्नुपर्ने एक मात्र नगरपालिका काठमाडौँको कीर्तिपुर हो । त्यहाँका मेयर राजकुमार नकर्मीको गत ११ साउनमा निधन भएको थियो । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको छ । गच्छदारको निधन गत ३ असारमा भएको थियो ।
दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पद पनि रिक्त छ । त्यहाँका अध्यक्ष लछुमन गुरुङको २७ माघ २०७९ मै निधन भएको थियो । उनले अध्यक्षको रुपमा करिब नौ महिना मात्रै कार्यभार सम्हाल्न पाए । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा पनि उपनिर्वाचन हुने भएको छ । तामाङको हृदयघातका कारण ३१ असार २०८० मा निधन भएको थियो ।
बाजुराको स्वमीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ४ माघ २०८० मै निधन भयो । मिर्गौलामा क्यान्सर देखिएकी उनको निधनपछि स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । यस्तै, यही ४ भदौमा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी ज्यान गयो । उनको निधनपछि रिक्त उपाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको हो । प्रमुख, अध्यक्ष, उपाध्यक्षसँगै अन्य वडाध्यक्ष पदमा पनि चुनाव गर्न भनेर निर्वाचन आयोगले पनि सामान्य प्रशासन मन्त्रालयमा भदौ महिना अन्त्यसम्म रिक्त पदहरूको एकीकृत विवरण तयार गरेर पठाउन भनिसकेको छ । किनभने आयोगले असोजको पहिलो हप्ता उपनिर्वाचनको मिति घोषणा गर्नेगरी तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए ।
आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको छ । मतपत्रबाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने पनि प्रवक्ता सापकोटाले बताए ।
सातै प्रदेशमा गरी २८ वटा वडामा अध्यक्ष पद रिक्त छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार १ वर्षभन्दा बढी पदावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ । उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनको आन्तरिक तयारी थालेको छ । एसले आन्तरिक परिपत्र जारी गर्दै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपाध्यक्षहरू, उपमहासचिवहरू, सचिवहरू, कानुन व्यवसायी तथा पोलिटब्युरो सदस्यसमेत सम्मिलित उपनिर्वाचन परिचालन कमिटी गठन भएको छ ।
गत आइतबार बसेको उपनिर्वाचन कमिटीको पहिलो बैठकले पार्टीका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा कमाण्डर तोकेको महासचिव घनश्याम भुसालले जारी गरेको परिपत्रमा उल्लेख छ । स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेश कमाण्डरमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेस प्रदेश कमाण्डरमा उपाध्यक्ष धर्मनाथ साह, बागमती प्रदेश कमाण्डरमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकी प्रदेश कमाण्डरमा सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेश कमाण्डरमा उपमहासचिव मेटमणि चौधरी, कर्णाली प्रदेश कमाण्डरमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेश कमाण्डरमा उपाध्यक्ष भानुभक्त जोशीलाई तोकिएको छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम प्रस्ताव गरेको छ । कीर्तिपुर नगरपालिकामा निकट भविष्यमा हुन लागेको उपनिर्वाचनका लागि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्तासमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ । यस्तै वडा नं १ मा सुरेन्द्रद्रसाद उप्रेती, वडा नं ४ का लागि बिजेस बस्नेतको नाम सिफारिस गरिएको छ । राप्रपाले अन्य रिक्त रहेको स्थानका लागि भने उम्मेदवार सिफारिस गरिसकेको छैन ।
यसरी यी दुई दल चुनावी माहोलमा व्यस्त छन् । ठूला दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रले भने उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छँदै चुनावी गठबन्धन नगर्ने घोषणा गरिसकेका छन् । एक्लाएक्लै उपनिर्वाचन लड्ने यी दलका नेताहरूले घोषणा गरिसकेका छन् ।
कांग्रेसले पार्टी केन्द्रीय समिति बैठकबाट आफ्नै चुनाव चिह्न रुखमा मतदान गर्ने वातावरणको सुनिश्चित गर्ने सम्बन्धी पार्टी महामन्त्री गगनकुमार थापाको प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि एक्लाएक्लै चुनाव लड्ने र त्यसका लागि तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । गठबन्धन गरेर चुनाव लड्दा कुनै एउटा पार्टीमा वर्षौंदेखि मतदान गरिरहेका मतदातामा आक्रोश देखिएको भन्दै दलहरू चुनावी गठबन्धनबिना चुनाव लड्ने मनस्थितिमा पुगेका हुन् ।


















