अन्तत अखिल क्रान्तिकारीमा प्रचण्ड र जनार्दन आमनेसामने

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन अहिले जारी छ । सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि चुनाब गर्ने भनिएपछि अध्यक्ष पदमा एक दर्जन भन्दा बढिले दाबेदारी प्रस्तुत गरेका छन् । अहिले माओवादी पार्टी भित्र धेरैवटा गुट भएका कारण अध्यक्ष पदका दाबेदार पनि धेरै देखिएका छन । धेरै वटा गुट देखिए पनि अन्तिममा प्रचण्ड र जनार्दन शर्मा पक्ष बिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)का एक नेताले भने अहिले प्रचण्ड खुल्नु भएको छैन तर वर्षमान पुन , जनार्दन शर्मा,नारायणकाजी श्रेष्ठ र देव गुरुङ आफु अनुकुलका ब्यक्तिलाई अध्यक्ष बनाउन भित्र भित्रै लागेका छन । बर्षामानलाई नन्दकिसोर पुनको सहयोग छ । जनार्दन शर्मालाई कृष्ण बहादुर महराको साथ छ । नारायणकाजीलाई गिरीराजमणि पोखरेलको साथ छ भने देब गुरुङलाई पम्फा भुसालको साथ छ ।

प्रचण्डले अन्तिममा र वर्षमान पुन ,नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई आपसमा मिल्न भन्ने छन । तीन जनालाई साथ लिएर जनार्दनलाई एक्लाउन खोजे पनि बर्षमानले प्रचण्डलाई आफ्नो उम्मेदबारमा समर्थन गर्न भन्ने नमाने आफ्नै उम्मेदवार खडा गर्ने सम्भावना छ । यसो गर्दा प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङको एउटा वर्षामान र जनार्दनको एक /एक जना उम्मेदवार हुने सम्भावना छ । प्रचण्डले बर्षमानको उम्मेदवारलाई समर्थन गरे नारायणकाजी श्रेष्ठ र देव गुरुङको अलग उमेदवार हुने छन । यसो गर्दा संगठनमा गुट मौलाउने भन्दै अन्तिममा सहमतिका नाममा खुल्ला निर्वाचन नहुन पनि सक्छ, तर जनार्दन पक्षले चुनाब हुनै पर्दछ भनेमा अन्तिममा प्रचण्ड र जनार्द शर्मा पक्ष बिच नै प्रतिस्पर्धा हुने देखिएको छ । यस अघि पनि सुरुमा चुनाब हुने भनियो तर २०७८ असोज २७ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहका सर्वसम्मत अध्यक्ष बनाएका थिए । सम्मेलनमा देशभरबाट २३ सयभन्दा बढी विद्यार्थी सहभागी छन ।

अखिल क्रान्तिकारीमा अहिले १९ जना उपाध्यक्ष छन्। तीमध्ये १४ जनाले आगामी कार्यकालका लागि अध्यक्षमा दाबेदारी गरेका हुन् ।
सङ्गठनका महासचिव एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि अध्यक्ष हुने तयारीमा छन् । उनी सहकारी र सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति हुन् । यसअघिको कार्यकालका लागि पनि दीपेशले अध्यक्षमा दाबी गरेका थिए । पुनलाई अध्यक्ष बनाउन माओवादी उपमहासचिव वर्षमान पुन, नेतृ ओनसरी घर्ती र उनका बुवा नन्दबहादुर पुनले नै प्रचण्डलाई आग्रह गरिरहेका बताइएको छ । उनीहरुलेपार्टी अध्यक्ष प्रचण्डलाई पनि पुनलाई अध्यक्ष बनाऔ भने पनि प्रचण्डले केही भनेका छैनन् ।

अध्यक्षका अर्का दाबेदारमा नरेश रेग्मी छन् । उनलाई महासचिव देव गुरुङ, उपाध्यक्ष पम्फा भुसाल, सचिव राम कार्की, लगायतको साथ छ । उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई पनि रेग्मीलाई अध्यक्ष बनाऔ भने पनि प्रचण्डले केही भनेका छैनन् । यस्तै, अर्का उपाध्यक्ष पवन कार्की लाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ छ । श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डलाई पनि कार्कीलाई अध्यक्ष बनाऔ भनेका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष इन्द्र भुसाल, उपाध्यक्षहरू नारायण खनाल, मदन भूल, क्षितिज सापकोटा, प्रवीणा अधिकारी, तुकमान महरा र केशव रावल लगायत पनि अध्यक्षका दाबेदार छन् । उनीहरूमध्ये मदन भूल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युतप्रसाद भट्ट लगायतले जनार्दनको साथ चाहेका छन् । अहिलेसम्म पनि विद्यार्थीमा जनार्दन समूहको ‘होल्ड’ रहेको छ त्यसैले उनको समूहमा अध्यक्षका प्रत्यासीहरूको भिड छ । जनार्दन शर्माले कसलाई साथ दिने मुखखोलेका छैनन । उपाध्यक्ष प्रविणा अधिकारी अर्की दाबेदार हुन् ।

उनलाई पनि अघि बढाउन केही नेताहरू तयार देखिन्छन् । त्यसो त २२औं सम्मेलन सम्पन्न भएपछि मनोनयन भएका १९ उपाध्यक्षमध्ये एक जना सांसद भइसकेकी छन् भने एकजना देश बाहिर छन् । बाँकी १७ मध्ये इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत अधिकांशको अध्यक्षमा सशक्त दाबेदारी रहेको एक सहभागिले बताए ।