नयाँ उत्साह र उल्लास दिने चाड मध्ये दसैंमा छौं हामी । १५ दिन लामो चाडको उत्कर्ष हो अष्टमी, नवमी र दशमी । नवरात्रिको विशेषपक्ष हो महाअष्टमी ! दसैंको उत्कर्ष अष्टमीदेखि नै सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी ! यसदिन घर–घरमा पशुपंक्षीको वलि दिने चलन देखिन्छ । शक्तिपीठहरुमा रगतको आहाल नै देखिन्छ । अघि असुरहरुले महादेवीप्रति जाइलाग्दा महिषमर्दिनी देवीले असुर दैत्यहरुलाई मार्न लाग्दा भागी ज्यान वचाउने क्रममा पशुपंक्षीका रुपमा रहन लागेको र तिनलाई नै भए पनि खोजी खोजी मार्ने क्रममा पशुपंक्षी वध गरी वलि दिई देवीलाई खुसी गराउने चलन चलेको देखिन्छ ।
सात्विकपूजामा संलग्न व्यक्तिहरुले पशुवलि नदिई कुभिण्डाको अथवा वेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा
छ । मांसाहार नगर्नेहरुले मूला, घिरौंला, कुभिण्डो, नरिवल, वेल आदि अर्पण गरेर वलिको पूर्णता गर्न सकिन्छ । महाअष्टमीका दिन दसैंकोठामा शुद्ध आसन, पूजा सामाग्री तयार गरी पायस फलफूल बस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मङ्गला, काली आदि देवीका विशेषनाम उच्चारण गर्दै देवीको वन्दना गर्नुपर्छ । अष्ट मातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा आदि गरिन्छ ।
अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि रहेको छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान सयौं राँगाहरुको वलि दिने चलन रहेको छ । राँगालाई महिषासुरको रुप मानिन्छ । अघि महामाया देवीप्रति दानवहरु मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् । दानव संहारको क्रममा रहेकी देवीले यसै मौकामा युद्धमा विजय गर्ने सँग बिहे गर्ने मेरो संकल्प छ भन्ने प्रस्ताव राख्नु भएकाले सवैजसो दानवहरु युद्धमा होमिदै आफू अन्त्य भएछन कोही भाग्न लागेछन् । भाग्ने र आफूलाई वचाउने क्रममा राँगा, बोका, कुखुरा जस्ता पशुपंक्षीको रुपमा प्रवेश गरेको वुझी नवमीका दिन देवीले यी सवैलाई खोजेर मार्न लागिछन् । देवीको आर्को नाम मोहिनी पनि हो सवैलाई मोहित पारी असुर वध गरेको सम्झना स्वरुप महाअष्टमी, महानवमीमा खास गरी शुभ विजय उत्सवको रुपमा मान्ने चलन चलेको देखिन्छ । महिषासुर नामक राक्षस राँगोको रुप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारि दिएको संझनामा राँगाको वलि दिने र पशुपंक्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो ।
अष्टमीको अर्को पक्ष छ तलेजु भवानीको विशेष पूजा ! भक्तपुरस्थित तलेजु मन्दिरमा यस दिन विशेष भीडभाड हुन्छ । दुर्गाको रुपमा पूजा गरिने यी देवीलाई ८४ प्रकारका नैवेद्य कालरात्रिमा चढाई विजया दशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौंको तलेजु मन्दिर पनि सवैका लागि खुल्ला हुन्छ र नवमीका दिन सयौँ राँगाको वलि दिइन्छ । वैदिक साहित्यमा भवानीलाई भवरोग नाशिनीदेवी भनिएको छ । भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको मानिन्छ । चैत्रशुक्ल अष्टमीमा उत्पत्ति भएकी भवानी आश्विन शुक्ल अष्टमीमा भगवतीको रुपमा उदय भएको मानिन्छिन् । सम्पूर्ण संसारको कार्यकारी शक्तिलाई हातमा लिएकी भगवती सामु कालखण्डका सम्पूर्ण देवता, सुर, असुर, जीव र जगत् एउटा खेलौना समान भनी देवी भागवतको प्रारम्भिक वन्दनामै व्याख्या गरिएको छ ।
सप्तशतीचण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरी रुपको चर्चा छ । उनका शक्ति र कार्यवारे विस्तृत चर्चा गर्न कठिन छ । संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ । प्रकृति र पुरुषरुपी यो संसारको संहारपनि उनैबाट हुन्छ । देवताहरु सामु प्रर्थनाबाट खुसी भएकी देवीले आफू ब्रह्मस्वरुपिणी भएकीले सर्वत्र एकछत्र शक्तिका रुपमा उनलाई हेर्न भनेकी छिन् । उनका २ प्रमुख स्वरुपमा सवै जीवमा चित्तस्वरुप परासत्ता र सवै पदार्थमा जड्स्वरुप अपरासत्ता स्वीकार्न भनेकी छिन्। दानवहरुमाथि विजय प्राप्त गेरकी देवी देवताहरुलाई ब्रह्म सत्ताको बोध गराउँछिन् । सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टहरुका लागि दुवुद्र्धिका रुपमा र सज्जनहरुका लागि सुकीर्तिमा स्थापित हुन्छिन् ।
सप्तशतीमा वर्णित रक्तवीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौँ विकार, कुण्ठा र वैमनस्याताहरु एकपछि अर्को वढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन, मान, पद, प्रतिष्ठाको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरु हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, अज्ञानताको पर्दामा ढाकिदा ज्ञानरुपीे दिपज्योति प्रकाशित हुन सत्तैन । ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, इष्र्या, वैमनस्यताहरु हटेर जान्छन्। आसुरी प्रवृत्तिहरु हट्छन् । यी सवैको वलिदान साँचो वलिदान हो । वलिदान भन्नाले त्याग हो, आत्मसमर्पण हो । क्रोध, आवेग, तनाव, चिन्तारुपी बोको बुद्धिको वलिदान हो । दुर्वुद्धिको वलिदान हो । रगतका थोपा–थोपा शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो । मानवमा भएका ती दुर्वलताहरुलाई वलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । देवी संसारकै आमा भएकीले कुनै जीवहरु काखमा राखेर हत्या गर्न कुनै आमाले पनि स्वीकार गर्ने कुरै आउँदैन । घरघरमा वा शक्ति पीठहरुमा वलिदान गर्नुपर्ने हिंसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको असी, नव्वे वर्षको संकेत गर्छ ।
कलकारखानामा विश्वकर्मा पूजा, वाहन, मेशिन, हात्ती, घोडा आदिको पूजा गरी आवश्यकता अनुसार वलिदिने कार्य प्राय नवमीका दिनगरिन्छ । कन्यापूजा आदि पनि प्राय यसै दिन गर्ने गरिन्छ । जमरा कोठामा भगवती सिद्धिदाताको विशेष पूजा गरी सम्पूर्ण रुपमा सिद्धि प्राप्ति होस् भन्ने प्रार्थना गर्दै भोलिपल्ट सर्वत्र विजयको शुभकामना आशीर्वाद प्रदान गर्ने शक्ति सक्षमता प्राप्त हुन प्रयास गरिन्छ । नवरात्रिभरि पूजा गरेको दसैं घरमा विजया दशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशतीपाठको अन्तिम अध्याय एवं क्षमा प्रार्थना समेत गरिन्छ । पूर्ण पात्र, ब्राह्मणलाई यथाशक्य दान, हवनादि कार्य सम्पन्न गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरुलाई रातो दही अक्षता, फूल, दुवो, जमरा अर्पण गरिन्छ । अघि भित्र्याइएको फूलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगल सूचक टिकाप्रसाद वितरण आरम्भ गरी विजया दशमीको उत्कर्षणतिर पुगिन्छ ।
सर्वत्र शुभकामना, हर्ष, श्री, विजय, उत्साह, उमङ्ग एवंम कल्याणको कामना गर्दै टिकाप्रसाद वितरण गरिन्छ । पुरुषजातिलाई टिका वितरण गर्दा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्रीऐश्वर्य, रामचन्द्रको जस्तो शत्रुविजय, नहुषको जस्तो ऐश्वर्य, वायुकोझैं गति, दुर्योधनकोझैं सम्मान, भीष्मकोझैं शुरता, बलरामकोझैं वीरता, युधीष्ठिरकोझैं सत्यता, विदुरकोझैं विद्धत्कला र भगवान् नारायणकोझै. कीर्ति होस्, कल्याण होस्, चिरायु रहोस् पशुवाहनादि, हात्ती घोडा वढून, धन्यधान्यले पूर्णभई ऐश्वर्य वैभवशालीको साथै भगवानमा स्थिर भक्ति लागोस् निरन्तर लागिरहोस् भन्ने शुभकामना दिई परमेश्वर दाहिना होऊन् भनि प्रार्थना गरिन्छ । स्त्रीहरुलाई टिका, आशीर्वाद पनि करिव उस्तै हो र पनि देवी कालरात्रिका रुपमा रहेकी, जयन्ती र मङ्गला अनि भद्रकालीरुपी, दुर्गा, क्षमा, स्वाहा र स्वधादेवी तिमीलाई वन्दना गर्दछु, हे चामुण्डादेवी सर्वत्र विजय रहोस्, सवैमा व्याप्त रहेर प्राणी रक्षागर्ने सामथ्र्य प्राप्त होस् भन्दै स्तुति गरिन्छ ।
आश्विन शुक्लप्रतिपदादेखि १५ दिनसम्म वडो धूमधामसहित बडादसैं पर्व मान्ने चलन मल्लकालदेखिनै भएको कुरा गोपालराज वंशावलीमा पाइन्छ । मल्ल राजाहरुले खड्ग स्थापना गरी देवी साधना गर्ने गरिएको इतिहास पाइन्छ । चाडहरुमा सवैभन्दा ठूलो रहेको दसैंले सवैमा एकता, सद्भाव, स्नेह र मित्रता कायम राखी पुरानो कल्मषलाई हटाई नयाँ ऊर्जा दिने परम्परागत मान्यता नै हो । दसैंको रौनक कोजाग्रत पूर्णिमासम्म रहन्छ । कोजाग्रत पूर्णिमाका दिन स्थापित जमरा सेलाई साँझ महालक्ष्मीको पूजा सम्पन्न गरेपछि दसैं पर्व समापन हुन्छ । घर–घरमा को–को जागाछन् र तिनलाई धनको वर्षा गराउन योग्य छ भनी स्यंम देवी महालक्ष्मी हरेकका घर–घरमा आई हेर्ने र परापूर्वकालमा गरीब घरमा पसी धनको वर्षा गराएर गएकी र सो गरीब व्यक्ति सो दिन रातमा जागा रहेका समय परेकाले सो दिनदेखि कोजाग्रत पूर्णिमा अर्थात् को जागै छ भन्ने नामकरण हुँदै हालसम्म सो दिन विशेष धनधान्यकी प्रतिक महालक्ष्मीको पूजाआजा गर्ने चलन रहेको मानिएको छ । दसैंको शुभकामना सबैमा ।
















