skip this काठमाण्डौं महानगरपालिका ११

रास्वपाका लामिछानेद्वारा बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान नलिएकोमा असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान नलिएकोमा असन्तुष्टि पोखेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज(आइतबार)को बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।

उनले प्रश्न गरे, ‘अरुण चौधरीकै जति सेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन ।’ बाँसबारी छालाजुत्ता कारखानाको जग्गा तत्कालिन च्याम्पियन फुटवेयर कम्पनी मातहत ल्याइएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा च्याम्पियन फुटवेयरमा अरुण चौधरीसँगै विनोद चौधरीको पनि सेयर भएको भेटिएको सीआईबीको भनाइ छ ।

सांसद लामिछानेको प्रश्नको जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’