skip this काठमाण्डौं महानगरपालिका ११

सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद महेशकुमार महराले सामाजिक न्याय र सुुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताएका छन् । उनले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । उनले राजनीतिक परिवर्तनका लागि योगदान पुर्‍याएका जनयुद्धका घाइते र बेपत्ताका परिवारलाई बेवास्ता नगर्न आग्रह गर्दै द्वन्द्वका घाइते, बेपत्ता परिवारलाई न्याय हुने गरी काम गर्नुपर्ने माग गरे ।

सांसद रामचन्द्र राईले निजामती ऐन नबन्दा राज्यको सङ्घीय तथा सुशासन कायम हुन नसकेको बताए । उनले सुशासनलाई व्यवस्थित गर्न सरकारले महालेखा परीक्षक तत्काल नियुक्ति गर्नुपर्ने बताउँदै सरकारले आर्थिक मन्दी घटाउन पूँजीगत खर्च बढाउनुपर्ने उल्लेख गरे । सांसद राईले सरकारी कामकाजको प्रक्रिया झण्झटिलो भएको हुनाले भ्रष्टाचार मौलाएको उल्लेख गर्दै जनताको हित र सुविधालाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयको चार सय आठ बिघा जमिन अहिले पनि विश्वविद्यालयले नपाएको जनाउँदै जमिन उपभोगका लागि सरकारले पहल गर्नुपर्ने माग गरिन् । उनले दाङलाई शैक्षिक हब बनाउने योजना सफल पार्न सरकारको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशको राजधानी दाङको विमानस्थल स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइन् ।

सांसद उदयबहादुर बोहराले गत कात्तिक १७ गते गएको पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटलगायत धेरै जिल्लामा ठूलो धनजनको क्षति भएको बताउँदै अहिले पनि पुन:स्थापना कार्य प्रभावकारी हुन नकेको जानकारी गराए । राससले जनाएनुसार उनले भूकम्पपीडित जाडोले कठ्याङ्ग्रिएर निमोनियालगायतका रोगको शिकार भएकाले तत्काल उचित राहत र पुनथापनाका काम गर्न आग्रह गरे ।