सरकारले संविधानमा स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गर्दै हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा दिने जनाएको छ । तर व्यवहारमा भने स्वास्थ्य सेवा पैसावालाहरुको मात्र पहुँचको बिषय भएको छ । लेख्न त संविधानमा पनि समाजवादउन्मुख भनेर लेखिएको छ । तर व्यवहारमा त्यसको झलक कतै पाईदैन । बरु पछिल्लो समय काठमाडौं महानगपालिकामा बालेन साह मेयर निर्वाचित भएर आएपछि उनले यसको पहल गरेका छन् । उनले आफ्नो कार्यक्षेत्र भित्र पर्ने अस्पतालहरुलाई लक्षित वर्गको नि:शुल्क उपचारका लागि तयार पारिएको काठमाडौं महानगरपालिकाको प्रणालीमा आवद्ध हुन सूचना जारी गरे । जसमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पताल आवद्ध भईसकेको बुझिएको छ । यी अस्पतालहरुमा सबै गरेर ३७ सय ४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या नि:शुल्क उपचारका लागि छुटटउनु पर्ने हुन्छ ।
आवद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौं मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू रहेका छन् । यी दुईवटै अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा रहेको महानगर स्रोतले जनाएको छ । नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले दिएको स्वास्थ्यसम्बन्धी हक प्रत्याभूति गराउन महानगरपालिकाले अग्रसरता लिएको छ ।
यसअघि लक्षित वर्ग अर्थात् विपन्न, असहाय र वेवारिसेको नि:शुल्क उपचारका लागि ‘काठमाडौं महानगरपालिकाका अस्पतालमा नि:शुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरिसकेको छ कार्यविधिले तोकेबमोजिम फागुन १ गतेदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पतालहरुलाई पत्राचार गरिसकेको महानगरले जनाएको छ ।
यसरी जाँदा विपन्न परिचय पत्र छ भने सिधैँ अस्पतालमा जान सकिन्छ । विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सक्छन् । तीन, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको नि:शुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन् । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ । सेवा लिन वेभ बारमा गएर एड्रेस टाइप गरेपछि प्रणाली खुल्छ । यसमा सेवाग्राहीले सेवा लिने प्रक्रिया तथा कागजातसम्बन्धी विवरण पढ्न सक्छन् । कुन अस्पतालमा कुन सेवा छ । त्यसमा उपचारका लागि शय्या खाली छ कि छैन, साइटबाटै हेर्न सकिन्छ ।
लक्षित वर्गको पहिचान हुने कागज भए नि:शुल्क स्वास्थ्योपचार सेवा लिन भनसुन गर्नु नपर्ने प्रणाली विकास गरिएको बताउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले स्वास्थ्य सेवा प्राप्त गर्ने हक उपयोग गर्न लक्षित वर्गलाई आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले भनेका छन्, ‘विगतमा कार्यान्वयनमा नआएको व्यवस्था कार्यान्वयन गर्न महानगरपालिकाले विकास गरेको प्रणालीमा ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ७४४ शय्या नि:शुल्क उपचारका लागि उपलब्ध छन् ।’



















