skip this वडा नं १६ बालाजु च:मती

विप्लवको विद्यार्थी संगठनले विद्यालयको शुल्कविरुद्ध संघर्ष गर्ने

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी)ले विद्यालयमा दिइने शुल्क विरुद्धमा संघर्ष गर्ने भएको छ । संगठनको काठमाडौंमा सम्पन्न २३औँ राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्ताव अनुसार विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले लिने शुल्क र निजी विद्यालयले लिने चर्को शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो ।

अखिल (समाजवादी)ले शिक्षामा राज्यको लगानी बढाउन समेत दबाब दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो । शिक्षालाई राज्यको अनिवार्य दायित्वमा लिने व्यवस्था गर्न माग समेत गरेको छ । नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी नीति र यसको कारण भइरहेको व्यापारीकरण, निजीकरण तथा माफियाकरणका विरुद्ध समेत समाजवादीले संघर्ष गर्ने भएको हो ।

त्यस्तै, विश्वविद्यालय र विभिन्न शिक्षालयहरूमा भइरहेको राजनीतिक भागभण्डाविरुद्ध समेत संघर्ष गर्ने भएको छ । विश्वविद्यालय तथा शिक्षालयहरूमा भइरहेका नियुक्तिहरू योग्यताका आधारमा गर्न समेत माग गरेको छ । युवा र विद्यार्थी तथा पुँजीको चरम विदेश पलायन रोक्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नेुपर्ने समाजवादीको माग छ ।

पाठ्यक्रममा अपडेट, विश्वविद्यालयको सुधार र नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारीको सृजना गर्न माग गरेको छ । नेपाललाई विश्वको एक शैक्षिक गन्तव्य बनाउने नीति लिन समेत माग गरेको छ भने एक शिक्षालय एक उत्पादन नीतिलाई लागू गर्न समेत माग गरेको छ ।