आज शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरे ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिनुपर्ने माग राखे । यस विषयमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेका विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पोखरामा जाहेरी दिएका छन् ।
यसअघि एमाले प्रतिपक्षमा रहँदा आरोप लागेका मन्त्रीका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म एमालेले संसद चल्न नदिने भन्दै अवरोध गरेको थियो । त्यतिबेला भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालामाथि बालकुमारी घटनाको दोषी रहेको आरोप लागेको थियो भने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अख्तियारमा बयान दिएका थिए । एमालेले यी दुई मन्त्रीका विषयमा प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेका थिए ।
सभामुख देवराज घिमिरेले पनि यो विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए । तर यसको केही दिनमै सत्ता गठबन्धनमा फेरबदल भएपछि एमाले सत्तापक्षमा र कांग्रेस प्रतिपक्षमा पुगेको छ । पहिलेका मन्त्रीहरु बर्खास्त गरेका नयाँ मन्त्रीहरु नियुक्त गरेकाले प्रधानमन्त्रीले मन्त्रीहरुका विषयमा उठेका प्रश्नको जवाफ दिनु पनि परेन । तर कांग्रेसले भने विगतमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा सभामुखबाट जवाफ दिन रुलिङ भएको भन्दै अहिले पनि सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछानेका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।


















