आफूले गर्नु पर्ने काम बाहेक सबै जान्ने प्रवृत्ति

नेपालमा पछिल्लो समय सबैतिर निरासाका कुरा बढी हुने गरेको पाईन्छ । यसरी निरासाबादी कुरा गर्ने सबैजसोले देश बरबाद हुनुको कारण राजनीतिक नेतृत्व भष्ट्र र असक्षम भएकोले देश अहिलेको अवस्थामा गएको बताउँछन । अबश्य पनि देश चलाउने भनेको राजनीतिक नेतृत्वले हो । त्यसैले राजनीति ठिक नभए सम्म देश सहि मार्गमा अगाडी बढ्न नसक्ने कुरा अस्वीकार गर्न मिल्दैन । तर यहाँ चर्चा गर्न खोजिएको कुरा देशमा राजनीतिक नेतृत्वले मात्र गल्ति गर्यो कि अरुले पनि आआफ्नो जिम्माको ठाउँमा जिम्मेवारी सहि तरीकाले निभाउन सकेनन भन्ने हो । मिहीन तरीकाले हेर्ने हो भने नेपालमा जसले चर्को स्वरमा अरुको बिरोध गरिरहेको हुन्छ उसले नै आफ्नो जिम्माको काम सही तरीकाले गरिरहेको हुदैन ।

एउटा कर्मचारी आफुले अफिसमा बसेर जनतालाई दिने सेवा सहज रुपले दिदैन तर उसले सरकार यस्तो उस्तो फलानो मन्त्री चोर भनिरहेको हुन्छ । शिक्षक प्राध्यापकहरुले कक्षमा गएर बिद्यार्थीलाई पढाउने भन्दा देशको राजनीति बरबाद भयो । यी नेता खत्तम भए भनेर समय बिताईरहेको हुन्छ । यदि अल्छि छ भने ऊ यस्तै गफ गरेर समय बिताउँछ । जागरिलो छ भने समय निस्कना साथ नीजि शिक्षण संस्थामा पढाउन जान्छ । व्यापारी आफुले आफ्नो पसलमा मिसावट गरेको सामान बेच्दछ । अनि देश भष्ट्रहरुले बिगारे भन्छ । आम मान्छे वा मतदाता चुनामा बिभिन्न प्रलोभनमा परेर गलत ब्यक्तिलाई मत दिन्छन । अनि नेता ठिक भएन भन्छन ।

यसरी हेर्ने हो भने यहाँ आफुले गर्नुपर्ने काम बाहेक सबै जान्ने आफुले गर्नुपर्ने काम गर्न नजान्ने वा नगर्ने नै बढी देखिन्छन । अरुले काम गरेन भनेर गफ दिने आफ्नो जिम्माको काम नगर्ने । अध्ययन र मेहनत गर्नुभन्दा अनुमानका आधारमा गफ दिने । देश भित्र घरको र आफ्नै नीजिका पनि नगर्ने तर विदेशमा गएर जे पनि गर्ने, प्रवृत्ति जसरी हाबी भईरहेको छ । देश बिग्रनुमा राजनीकि नेतृत्व दोषी भएकोमा बिवाद भए तर आफ्नो जिम्माको काम नगर्ने प्रवृत्ति पनि उत्तिकै दोषी छ । यस तर्फ पनि ध्यान दिने कि ? र, साँच्चै देश बनाउने हो भने सबैले आआफ्नो जिम्माको काम सहितरीकाले गर्नु पर्दछ ।