गण्डकीमा मुख्यमन्त्री खगराज नियुक्ति, कांग्रेसको असहमति

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का आठ(सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार गठनको प्रक्रियामा सामेल भएको छैन ।

उता,  नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति प्रकट गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको जनाएको छ । कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्रसमेत बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

कांग्रेस ससंदीय दलका तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । उनले दल त्याग गरिसकेको अवस्थामा सभामुख पद तटस्थ हुने भन्दै सरकार गठनको जोडघटाउमा सभामुख लाग्न नमिल्ने बताए । ‘संविधानको व्यवस्था अनुसार सरकार गठन हुनुपर्छ, अहिले गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको हाम्रो ठहर छ’, सचेतक न्यौपानेले भने ।