प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी(सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल-चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए । ‘नेपाल र चीनबीचका थप नाकाहरू सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।’
अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थिए ।


















