एमालेका सांसद सुहाङ नेम्वाङद्वारा शपथग्रहण

नेकपा एमालेबाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सांसद नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् । १५ बैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । बुवाको निधन भएपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई हराउँदै सुहाङ विजयी भएको थिए ।