कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।

उनले कोशी प्रदेश सरकार(मन्त्रिपरिषद्)को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम उक्त आह्वान गरेका हुन् । यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनलाई नेकपा(एमाले)का ३९, नेकपा(माओवादी केन्द्र)का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ । आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा(४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।