जनावरको आक्रमणबाट सात जनाको मृत्यु

 

साउनयता  जंगली जनावरको आक्रमणबाट सात जनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जंगली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए ।

घाइतेको उपचारका लागि निकुञ्जले २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए। उनको अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप ७० लाख प्रदान गरिएको छ । यस्ता क्षेत्रमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए।