प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मतविरुद्ध जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । उनी आज आइतबार प्रधानमन्त्री दाहालको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिन पुगेका हुन् ।
उनले जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका सात जना प्रतिनिधिसभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन् । जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।
यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । यादव नेतृत्वको जसपा नेपाल गत वैशाख ३१ गते संघीय सरकारबाट हटेर विश्वासको मतसमेत फिर्ता लिएको थियो । जसपा नेपालले विश्वास मत फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले भोलि सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।

















