बुद्धं जयन्ती एकासी

वैशाख शुक्ल पूर्णिमा, बुद्ध जयन्ती हाम्रो विशेष पर्व, शान्तिका अग्रदुत बुद्धको अवतरण भएको दिन । यसपालि यसै जेठको १० गते परेको छ । बुद्धको पन्चशील: हिंसारहित जीवन, चोरी नगर्ने, झुठ नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो । बुद्धका प्रमुख ४ वादहरु महायान, जसलाई पुरातनवाद भनियो, हीनयान जसलाई संशोधनवाद भनियो, बज्रयान जसलाई अस्तित्ववाद भनियो र थेरवाद जसलाई अनिश्वरवाद भनिएको छ । बुद्धका ४ आर्य सत्यमा दु:ख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य हुन् । जैन धर्मका पनि ४ वाद छन् । दिगम्बरबाद जो निर्बस्त्र हुन्छन्, श्वेताम्बरवाद जसले सेतो बस्त्र धारण गर्छन्, श्वेताम्बर जो मूर्तिपूजक छन् र अर्का श्वेताम्बर जो तेरापन्थी हुन् ।

मनुस्मृति भन्छ: धर्म एव हतो हन्ति, धर्मो रक्षति रक्षित:, यसको अर्थ धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ । त्यसैले गुरु व्यासको भनाइ छ: अष्टादश पुराणेषु व्यासस्य वचनं द्दय, परोपकार पुण्याय पापाय परपीडनम् । १८ पुराणका रचयिता वेद व्यासले जम्मा दुई शब्द भने: अरुको उपकार गर्नाले पुण्य हुन्छ र अरुको पीडाले पाप हुन्छ । मनुस्मृतिको भनाइ छ: अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियग्रिह: । दानं दया दमः क्षान्तिः सर्वेषां धर्मसाधनम् । यसको अर्थः हिंसा नगर्नु, सत्य र आचरणमा बस्नु, चोरी नगर्नु, शुद्ध रहनु, इन्द्रियलाई अधिनमा राख्नु, यथाशक्य दान गर्नु, सबैप्रति दया गर्नु, मनलाई नियन्त्रणमा राख्नु, सदैव शान्त रहनु मानव मात्रको धर्मको लक्षण हो । संसारका सबै धर्म सम्प्रदायहरुको अध्ययन गर्दा यस्तै विचार पाइन्छ ।

यं शैवा समुपासते शिव इति ब्रह्मेति वेदान्तिनो । बौद्धाः बुद्धः इति प्रमाणपटकः कर्तेति नैयायिकाः ।। अर्हन्नित्यथ जैन शासनरता कर्मेति मीमाँशकाः । सोअयंमे विदधातुवान्छितफलम् त्रैलोक्यनाथो हरिः ।। यसको अर्थः शैवमार्गीहरुले ईश्वरलाई शिव भने, वेदान्तीहरुले ब्रह्म भने, बौद्धमार्र्गीहरुले बुद्ध भने, नैयायिकहरुले कर्ता भने, जैनमार्गीहरुले अर्हन्त भने, मीमांशकहरुले कर्म भने, जसले जे भने ठिकै भने, तीनै लोकका मालिक त्रैलोक्यनाथका श्रीहरि, परमेश्वरबाट मानव मात्रले वान्छित फल पाऊन् हामी यही भन्छौँ । शिखमार्गीहरुले गुरु नानकको उपासना गर्छन् उनका प्रार्थनामा ५ नाम छन्ः सत्य, यथार्थता, ईश्वरको नाममा दया, सद्विचार, ईश्वर स्तुति र उनैको गुणगान । दिवा तपति आदिच्चो रति आभाति चन्द्रिमा । सन्नद्धो खत्तियो तपति झायी तपति ब्राह्मणे । अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।। धम्मपद ३८७, यसको अर्थः सूर्य दिनमा प्रकाशित, रातमा चन्द्रमा, कवच्ले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानका कारण ब्राह्मण प्रकाशित हुन्छ । बुद्ध आप्mनो तेजले आफै प्रकाशित छन् ।

महाभारत ३९।७२ अक्रोधेन जयेत् क्रोधमसाधुं साधुना जयेत् । जयेत् कदर्यं दानेन जयेत् सत्येन चानृतम् ।। यसको अर्थः अक्रोधले क्रोधलाई जित्नु, असाधुहरुलाई साधुको व्यवहारले जित्नु, कृपणलाई दानले जित्नु र झुठलाई सत्यले जित्नु यसको अर्थ हो । बुद्धको धम्मपद २२३ ले भनेको छः अक्कोधेन जिने कोधं असाधुं साधुना जिने । जिने कदारियं दनेन सच्चेन अलिकवादिनं । यसको अर्थः क्रोधीलाई अक्रोधले जित्नु, असाधुलाई साधु भएर, नराम्रो गर्नेलाई राम्रो गरेर, कृपणीलाई दिएर र असत्यवादीलाई सत्यबाट जीवन सन्चालन गर्नु वेश हुन्छ ।

देशले २५६८औँ बुद्ध जयन्ती मनाउँदैछ । यहाँ मात्रै होइन बिश्वका हरेक कुनामा रहेका बौद्ध धर्मीलागि बुद्धजयन्ती एक अत्यन्तै पावन दिन हो । सबै बौद्धमार्गीहरुले यसदिनलाई अति सुखद दिनका रुपमा हेर्छन् । हरेक वर्ष नेपालमा साताव्यापी कार्यक्रम राष्टियस्तरमै गर्ने गरिएको हो । हिन्दु धर्ममाझैं बहु देवप्रथा तथा मूर्ति पूजामा बुद्धले बिश्वास नगरे पनि तन, मन, वचनको अहिंसालाई बुद्धले जीवनको तपस्याको रुपमा लिए । संयोगले बुद्धत्व प्राप्त गरेको दिन र महा परिनिर्माण प्राप्त गरेको दिन पनि बैशाख शुक्ल पूर्णिमा एउटै तिथि परेको छ । कठोर साधनापछि बुद्धत्व प्राप्त गरेका बुद्धले सर्वप्रथम आफ्नो दिव्यज्ञान कौडिन्यलाई दिए भने अन्तिम ज्ञान प्राप्त गर्ने व्यक्ति सुभद्रऋषि थिए ।

सातु र मह दिने दुई व्यापारीलाई पनि बुद्धले धर्म देशना गरे । आषाढ पूर्णिमाका दिन सारनाथ क्षेत्रमा आफूले प्राप्त गरेको दिव्यज्ञान प्रचार गरे । ४५ वर्षसम्म उनले बिभिन्नक्षेत्रमा बृद्धधर्मको प्रचार गरे । अन्त्यमा ८१ वर्षको उमेरमा भारतको कुसीनगरको उपवर्तनवनमा दुई सालको रुखमुनि इ.पु.४८३ मा बुद्धले महापरिनिर्माण प्राप्त गरे । अवसानपछि मृतशरीरमा ७ दिनसम्म पूजा गरियो । तेलले भिजाएको कपडा र फुक्का कपासले ५०० पत्रसम्म वेरेर श्रीखण्डको चितामा राखिएको लाशवाट आफैं अग्नि प्रज्वलित भएको थियो ।

बुद्धको अस्तु बिभिन्नस्थानहरु भारतको बैशाली, कासीनगर लगायत नेपालको कपिलवस्तु आदिक्षेत्रमा राख्न पठाई बिभिन्न चैत्य, स्तुपहरु उनकै स्मृतिमा निर्माण गर्न लागियो । बुद्धधर्ममा मूलतः २ सम्प्रदाय देखिन्छ । (क) हीनयान र (ख) बज्रयान । हीनयान सम्प्रदायले अवतारवादमा बिश्वास गरेको छैन । बुद्धको उपदेश खासगरी यथार्थवाद नै हो । बुद्ध कुनै अवतारी नभएर एक महापुरुष हुन् । पछि आएर हीनयान सम्प्रदाय महायान सम्प्रदायमा परिणत भयो । यसले अवतारवादमा बिश्वास गर्न लाग्यो । वोधिसत्व एवं देवताहरुलाई पुज्ने र लामालाई पुरोहितको रुपमा मान्ने चलन चलायो । स्तुपाहरुमा पूजा पनि गर्न लाग्यो । जीवात्माहरुको उद्धारहेतु बुद्धत्व आवश्यक छ भन्ने यस सम्प्रदायको मत हरेको छ ।

अर्को बज्रयान सम्प्रदायले भने बज्रको प्रयोग गर्ने, तन्त्र, मन्त्रमा बिश्वास राख्ने गरेको छ । नेवार जातिमा बढी चर्चित यो सम्प्रदाय प्रायः श्मशानघाटमा बस्ने हाड, कङ्काल आदिको प्रयोग गर्ने, मानव खप्पर प्रयोग समेत गर्ने गर्छन् । बुद्ध धर्म ग्रन्थअनुसार बुद्धले २८ पटकसम्म अवतार लिइसकेका छन् । हिन्दु धर्म ग्रन्थमा श्रीबिष्णुका मुख्य १० र अन्य २४ अवतारमध्ये ९औं र २३औं अवतार बुद्धअवतार भनिएको छ । देवताका सामु दैत्यहरुले मुक्तिको उपाय खोज्दा पशुवध, प्राणीवध गरेकाले यसो नगरी अहिंसावाट मुक्ति खोज्ने उपाय बताउन श्रीबिष्णुले बुद्धअवतार लिएको भनिन्छ । दैत्यहरुलाई बुद्धले अहिंसा नै उत्तम उपाय हो भनी मुक्तिको ढोका खोलिएका प्रसंगहरु भेटिन्छन् । हालसम्म २८ जना बुद्धले धर्तीमा अवतार लिइसकेका छन् । बुद्धधर्मको मुख्यग्रन्थ त्रिपिटक हो जसमा बिनयपिटक, सूत्तपिटक र अभिधम्मपिटक गरी ३ खण्ड छन् । आत्मउद्धार गर्ने व्यक्ति अन्तरमुखी हुन्छ । वहिर्मुखी, बाह्य जगत्को परिवेश र सांसारिक पद, पदार्थप्रति राग हुँदैन । अनन्य अनुरागलाई वैराग्य भनिन्छ, भगवत् प्राप्ति गरी जीवनलाई स्वच्छन्द, उन्मुक्त गराउन सक्नु मानवको ध्येय हुनुपर्छ ।

यसबारे सूत्रात्मक रुपमा हेरौँन त ।
बुद्धका ती चारबाद महायान र हीन, एउटा भयो पुरातन अर्को संशोधन ।
तेस्रो भयो बज्रयान थेरबाद अर्को, एक भयो अस्तित्वबाद अर्को अनिश्वरको ।।
आर्य सत्य चारै थरि दुःख सत्य एक, समुदय, निरोध र मार्ग सत्य सत्य ।
दीगम्बरवाद बस्त्रहीन श्वेताम्बर बस्त्र, सेतो बस्त्र मूर्तिपूजक अर्को तेरापन्थ ।।
शैवमार्गी शिव भए ब्रह्म वेदान्ती नै, बौद्धमार्गी बुद्ध भए कर्ता नैयायिक भैmँ ।
जैनमार्गी अर्हन्त त कर्म मीमाँशक, त्रैलोक्यका श्री हरि ईश्वर सब एक ।।
शिखमार्गी गुरुनानक पाँच नाम उनका, सत्य सत्य दया विचार स्तुति गुणगानका ।।
बुद्धको त्यो धम्मपदको तीन सो सतासी श्लोकका, दिवा तपति आदिच्चो रवितपति चन्द्रिका।।
सन्निद्धो खत्तियो तपति झायी तपति ब्राह्मणे, अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।।
धम्मपद दुईसय तेईस यस्तो भन्छ श्लोक, अक्रोधेन जयेत् क्रोधं असाधुलाई रोक ।
जयेत् कदर्य दानेन जयेत् सत्येन नानृतम्, बुद्धवाणी सदा अमर मृत्युर्गमय अमृतम् ।।
हालसम्म अठ्ठाईस बुद्ध धर्ती अवतार नै, तणहँकर मेघंकर र शिखी वैशम्भु नै ।
क्रकुच्छन्द कनकमुनि कश्यप गौतम बुद्ध, शरणंकर पदुम नारद सुमेध दीपंकर नै ।।
कौडिन्य र सुजात अनि मंगल प्रियदस्ती, सुमन रेवत धम्मदस्सी भए अत्थदस्सी ।
अनोमदस्ती शोभित तिस्स भए अर्का फुस्स, ककुसन्ध कोणागमन बेसम्भु र कश्यप ।।
त्रिपिटक नै मूलग्रन्थ विनयपिटक अर्को, सूत्तपिटक अभिधम्मपिटक नमान न झर्को ।
बाह्य संसार फिका देखे बुद्ध अन्तरमुखी, आत्मउद्धार गर्ने व्यक्ति हुन्छ यस्तैमुखी ।।
बाह्य संसार फिका देखे बुद्ध अन्तरमुखी, आत्मउद्धार गर्ने व्यक्ति हुन्छ यस्तैसुखी ।।