संसदमा कांग्रेसको अवरोध कायमै, संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश(टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताए ।

उनले भने, ‘कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ ।’ सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेको उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएको र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताए ।

उता, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।’

राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु भएको भन्दै अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।