प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।
मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए । कांग्रेस र प्रतिपक्षी दलहरूका विरोधबीच सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले धन्यवाद प्रस्ताव टेबल गरेका थिए । गत जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख घिमिरेले बताए ।
यस्तै, गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव राखेका थिए । आज बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बीच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।


















