नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका छन् । संसदीय दल र पार्टीभित्र छलफल नै नगरी दलका नेता मानबहादुर धामीले मन्त्री बन्नेहरूको नाम सिफारिस गरेको भन्दै खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री सोडारीलाई पत्र बुझाएका हुन् ।
उनीहरुका अनुसार माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् । पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ति प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ ।
यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए । यहाँ माओवादीका सभामुखसहित ११ सांसद छन् । यस्तै, नेकपा एमालेले पनि मन्त्री बन्ने ३ जनाको नाम सिफारिस गरेको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस भएको छ । सोमबार ५ बजे मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय निकट स्रोतले बतायो ।



















