उमेरले बीस वर्ष पुगिन् सिर्जना तामाङ । उनी तेन्जी डोमा छिरिङ र डोमा लामा भनेर पनि चिनिन्छन् । सिन्धुपाल्चोकको मेलम्ची–७ घर भएकी उनको धन्दा भने आपराधिक हो । उनले गर्दै आएको आपराधिक कर्म भनेको कुनै केटालाई बोलाउने, यौन सम्पर्क गर्ने, त्यसको भिडियो खिच्ने अनि पैसाको ‘बार्गेनिङ’ गर्ने हो ।
केही वर्ष यता यस्तो आपराधिक गतिविधिमा संलग्न उनी अन्तत: प्रहरीको फन्दामा परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार सार्वजनिक गरेको छ । कार्यालयका सूचना अधिकारी (प्रहरी उपरीक्षक) काजीकुमार आचार्यका अनुसार उनले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध ढंगले सुरुमा महिला र पुरुषको समूह बनाउने गरेको खुलेको छ । त्यसरी समूह बनाएपछि सामाजिक सञ्जालमार्फत फोन नम्बर आदानप्रदान गराउने गरेको पाइएको छ । यसपछि भने समूहमा रहेका महिला र पुरुषबीच भेटघाट गराउने र यौनसम्पर्क गर्न लगाउने र सुुटुक्क भिडियो खिच्ने गरेको पाइएको पनि प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको आचार्यले बताए । कहिले त आफैं पनि कोठामा केटालाई बोलाउने र ती केटासँग यौन सम्पर्क गरेको भिडियो मोबाइलबाट खिचेर ‘ब्ल्याकमेल’ गर्दै रकम असुली गरेको उजुरी परेको आचार्य बताउँछन् ।
यस्तो आपराधिक गतिविधिमा उनलाई साथ दिने सौरभ तामाङ उर्फ लिलाबहादुर तामाङ हुन् । उनी पनि पक्राउ परेका छन् । अनुसन्धानको क्रममा सुरुमा सौरभले पीडित (पुरुष)को फेसबुक आइडी सिर्जनालाई ह्वाट्स्एपमा पठाएका थिए । जुन साथी बन्नलाई हो । यसपछि सिर्जनाले पीडितलाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् । पीडितले असेप्ट गरे । यसपछि उनीहरूबीच कुराकानी हुँदै जाँदा आपसमा यौनसम्पर्क गर्न तयार भए । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक आचार्यले सानन्यूूजसँग भने, ‘अनि, सौरभले ती पीडित (पुरुष)सँग यौन सम्पर्क गर्दागर्दै भिडियो खिच्न सिर्जनालाई आफ्नो मोबाइल दिए । पीडित पुरुष र आफूूबीच भएको शारीरिक सम्पर्कको भिडियो खिचे । अनि, मोबाइल सौरभलाई नै फिर्ता गरेको देखिएको छ ।’
अनि, दुवैले पीडित पुरुषलाई अश्लिल भिडियो पठाए । मागे एक करोड । पीडित पुरुष झस्किए । उनलाई छाँगोबाट खसेझैँ भयो । बेइज्जत हुने डर भयो । तनाव पनि उत्तिकै भयो । अश्लिल भिडियो सार्वजनिक गर्ने भनेर चेतावनी दिए । यसपछि पीडित पुरुष सिर्जना र सौरभलाई १५ लाख दिन तयार भए । सर्त चाहिँ भिडियो डिलेट गर्ने भन्ने थियो । सोहीअनुसार ती पुुरुषले पैसा दिए । तर, उनीहरूले हटाएनन् । बारम्बार ‘टर्चर’ दिँदै पैसा मागी रहे । यसपछि ती पुरुष काठमाडौं अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर आए । सोही उजुुरीका आधारमा आपराधिक लाभ लिएको कसुरमा संलग्न भएको भन्दै दुवै जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले दुुई थान मोबाइल र ३४ हजार ५०० नगद बरामद गरेको छ । प्रहरीले दुुवै जनाविरुद्ध आपराधिक लाभसम्बन्धी कसूूरमा अनुसन्धानमा गरिरहेको आचर्याले बताए ।


















