विश्कर्मा र वास्तु विज्ञान

मानिस असन्तोषी प्राणी हो र हरदम उसले प्रगति नै चाहन्छ, तर आप्नो धरातललाई भने प्रायः बिर्सन खोज्छ । उसले प्रसस्त आर्थिक विकास चाहेको हुन्छ । न्यूनतम आवश्यकतादेखि सम्पन्नता र विलासिताको जीवनशैलीसम्म मानवजीवनमा अर्थकै धेरै महत्व हुन्छ । अर्थ, अर्थोपार्जन र अर्थको उपयोगदेखि उपभोगसम्मको अध्ययन र विश्लेषण अथर्ववेदले गर्दछ । अथर्ववेदको वास्तुशास्त्रले वस्तुको ज्ञान र विज्ञानको उपयोगितालाई दर्शाउँछ तर यसको महत्व भने मानिसले अनुशरण गरेको पाइन्न । त्यसको ज्वलन्त उदाहरण हाम्रा पूर्वाधारहरु संसारमै देखाउन नहुने भएका छन् । अथर्ववेद र बास्तु शास्त्रको उद्गम स्थलमा यसरी आप्नो विकास निर्माणमा आपैले मुख लुकाउनु परेको छ । असौज १ विश्वकर्मा पूजा र बास्तु दिवस, यसै सेरोफेरोमा रहेर केही विषयबस्तु उजागर गर्ने यो आलेखको आशय छ ।
धन, वैभव, उत्पादन र वितरण, रोजगारीको सिर्जना, आर्थिक लगानी, त्यसको प्रतिफल, आर्थिक वृद्धिदर, पदार्थको अत्यधिक प्रयोग, घर, भवनहरूको सजावटमा विभिन्न धातुहरूको प्रयोग र तिनको ब्यवस्थिति, फलाम–काठ–सिसा–माटो–ढुंगा आदिको प्रयोगको अध्ययनदेखि तिनको गुणस्तर, भूमिशोधन, भूमिको शल्यक्रियासम्म र त्यसको समय मापन सम्मको अध्ययन कार्य वास्तुशास्त्रको हो, त्यसैले यो विज्ञान हो र बढी इन्जिनियरिँग सेक्टरकाले बुभ्न जरुरी छ । औद्योगिकक्षेत्रको लागि सुहाउँदो वातावरण, त्यसको अनुकूलको भवन निर्माण, आवासीय प्रबन्ध, विद्युतीकरण, अन्य इलेक्ट्रोनिक्स विषयको ब्यवस्थापन, एयर कण्डिसन, रेफ्रिजिरेटर, ब्यापारिक कार्यक्षेत्र, उद्यमशिलताको वातावरण, रोजगारीको सिर्जना, पर्यटन प्रबद्र्धनदेखि तालतलैयाको ब्यवस्थिति र मठमन्दिर–प्राचीन स्मारकहरूको अनुसन्धान, शिल्पी कार्यसम्म र ती सबै वस्तुहरूको रखाइ, सजावट पद्धति, विधान र प्रक्रिया समेतलाई ब्यवस्थित गराउन यसले प्रेरित गर्छ ।
बैंकिङ्ग सेक्टरहरूका लागि सेवा दिने कायण्टर, भवन, सेवाग्राहीहरूले सेवा लिन सक्ने वातावरणको पहिचान, आधुनिक पाठशालाहरूको निर्माण, प्रयोगशालादेखि सभागृह, कक्षाकोठा तिनको सजावटका विषयदेखि घर, मल, महलहरूमा हुने आधुनिक शौचालय तिनको आकार प्रकारसम्मको अध्ययन यसले गराउँछ । ग्राम, नगर, नगरोन्मुख जन जीवनदेखि आधुनिक सरसफाइसम्म र उच्च रार्जमार्गहरूको लागि आवश्यक पूर्व तयारी समेतको सजगता यसले अपनाउँछ । आधुनिक ढल, पानी प्रशोधनको विषय, नदी व्यवस्थापन, विकासको लहर, समानुपातिक वितरणसम्मको कार्यक्षेत्र अङ्गालेको अथर्ववेदलाई बिर्सेर हामीले आर्थिक कल्याण गर्न सत्तैनौँ । आर्थिक बिकास नहुँदा, आर्थिकस्तर बृद्धि नहुँदा समग्र राष्ट्रविकास र निर्माण कार्य नै पछि पर्न जान्छ । नदीको व्यवस्थापन गर्न नजान्दा आम नागरिकले पाएको दुःख त सबैलाई ज्ञात छ र पछिल्लोपल्ट अदालतले दिएको थप २० मिटरको नदी किनाराको परमादेशलाई उल्ट्याउन सिँहदरबार आपैmँ लागेको छ, आसपासका लाखौँ मानिसको निद्रा हराम भएको छ र बालेनको डोजर के कसरी घुमिरहेको छ, याद नै छ । सडकमै पानी जहाज चल्ने अबस्था भरखरै हामीले व्यहोरेका छौँ । संसारकै ठूला नदी ब्रह्पुत्रहरुमा यो समस्या छैन, हामीकहाँ आएको लोकतन्त्र लोभतन्त्रमा परिणत हुँदा आम जनता अहिले निराश छन्, विपत्ति र दूर्घटनाहरु कहालीलाग्दा छन् ।
अथर्ववेद अन्तर्गतको स्थापत्यवेद वास्तुशास्त्रभैmँ मानवजीवनमा सामवेदको पनि उत्तिकै महत्व छ । सर्वप्रथम वास्तु अध्ययन र यसको पद्धतिमा रहेर व्यक्तिले जीवन संचालन गर्ने क्रममा उसलाई मनोविनोद पनि आवश्यक हुन्छ, क्रीडा, मनोरन्जन, समयको परिपालन, उत्साह, नवीन ऊर्जा, उत्साह, श्रीवृद्धिका साथमा सङ्गीत, कला, साहित्य, इन्द्रियभोगको चिन्तन, विषयभोगको चिन्तन, प्यारोवस्तुको परिकल्पना, गतिशील सोचाइ, ठाउँ, परिवेश र समयअनुसारको इच्छा र आकांक्षाहरूको पूर्ति, यी सम्पूर्ण कार्यक्षेत्र सामवेदका हुन् । अथर्ववदेको विश्वासले सामवेदको प्रयोगस्थल– पूजाकोठा, अथर्ववेदको प्रयोगस्थल– बैठककोठा र भान्छाकोठा, ठीक र ब्यवस्थित नभए घरभित्र र घरबाहिरको वातावरण ठीक हुँदैन । घर सजावटमा ब्यक्तिको आफ्नै चाहना भए पनि पद्धति र परम्परा अनि प्रक्रिया ब्यवस्थित नभए सोचे जति ज्ञान र विज्ञानको सदुपयोग गर्नै सत्तैन ।
मानवजीनमा पुरुषार्थ आवश्यक हुन्छ । शुरता, वीरता, रक्षा, शान्ति र सद्भाव, भाइचारा, स्नेह, दया, करुणा, आत्मवल, पराक्रम, परिपक्वता जीवनका अपरिहार्य आधारहरू हुन् । नेतृत्वको चयन, सक्षमता, कुशल नेतृत्व, मानपदवी, प्रतिष्ठा सारा गौरव यजुर्वेदका कायक्षेत्रहरू हुन् । आत्मशान्ति, धर्मको भावनात्मकपक्ष, कर्तव्यपरायणता, उपकारीभावले व्यक्ति, समूह, समुदाय र राष्ट्रसेवामा समर्पित हुनु राष्ट्रनिर्माण र पुनःनिर्माणमा समर्पित हुनु ऋग्वेदका गुणहरू हुन् । यसरी हाम्रा पूर्वज वेदका ज्ञाता पैल, वैशम्पायन, जैमिनि, सुमन्तु आदि मन्त्रद्रष्टा ऋषिहरूको समष्टि वेद र वेदले स्थापना गरेकोे वास्तुपद्धति आजको शताब्दीमा झन् बढी महत्वपूर्ण छ । औद्योगिकभवन, कलकारखाना, व्यापारिकस्थल सकेसम्म पूर्व, उत्तर वा ईशान कोणतर्फ फर्केको हुनु लाभप्रद छ । औद्योगिकस्थलहरूको वायव्यतर्फको ढोकाबाट तयारी सामान निश्कासन गर्न सके उत्पादित सामानहरूको वितरण छिटो छिटो हुन्छ । औद्योगिक उत्पादनस्थलभन्दा कार्यालय भवन उत्तर या पूर्वदिशामा राख्नुपर्छ । कारखानाको आकार वा उचाइभन्दा प्रशासनिक कार्यालयको आकार उचाइ ठूलो वा अग्लो हुनुहुन्न । आफ््ना सेवाग्राही वा ग्राहकसँग व्यापारिक वा आर्थिक कुराकानी गर्दा उत्तर या उत्तर पूर्व या पूर्व मुख फर्की गर्नुपर्छ । यसो गर्दा सकारात्मक ऊर्जाले बढी लाभ हुन्छ ।
औद्योगिक कारखानाका मेशिन, उपकरणहरू नैऋत्य, पश्चिम या दक्षिणतर्फ राख्नुपर्छ । कच्चा पदार्थलगायत सबै गह्रौँ सरसामग्रीहरू दक्षिण या पश्चिम दक्षिणतिर राख्नु पर्छ । उत्पादित तयारी सामान भने वायव्यतिर राख्नुपर्छ । बिजुलीका सरसामान, जेनेरेटर, ब्वाइलर, मिटर, ऊर्जासम्बन्धी सरसामान अग्निको दिशा आग्नेयतर्फ राख्नुपर्छ । कुलर भने पश्चिम वायव्यतिर राख्नु पर्छ । चिम्नी भट्टीहरूको व्यवस्था भने आग्नेयतिर गर्नुपर्छ । यसोगर्दा पूर्व आग्नेय अग्लो हुने स्थिति निराकरणका लागि चिम्नीभन्दा अग्लो कुनै सामान पानी ट्यांकी वा लट्ठा नैऋत्यतर्फ राख्दा वास्तुदोष कम हुन्छ ।
घर, कार्यालय, व्यापारिक महल वा सार्वजनिक निर्माणकार्य गर्दा पूर्व, उत्तरतर्फ सकेसम्म बढी खुल्ला गर्नुपर्छ । पानीट्यांकी, धारा, जमिनमुनिको पानी आपूर्तिस्थिति आदि पूर्व उत्तर क्षेत्रमा नै राख्नु पर्छ । बरण्डाहरू पूर्व वा पूर्व उत्तर बढी हुनुपर्छ । तल्लापिच्छे पिउने पानीको प्रबन्ध उत्तर पूर्वतर्फ नै गर्नुपर्छ । पूजा कोठा पनि पूर्व उत्तर नै गर्नुपर्छ । अण्डरग्राउण्ड भवनहरू बनाउँदा पनि पूर्व, उत्तर, ईशानतर्फ नै फर्काउनु पर्छ । सवारी पार्किङ्ग पनि पूर्व उत्तर नै राम्रो हुन्छ । अण्डरग्राउण्डमा पनि दक्षिण पश्चिम क्षेत्र अग्लो नै हुनुपर्छ । पश्चिम दक्षिण दिशातर्फ अग्लाई बढी, खुल्लाक्षेत्र कम र पूर्व उत्तरतर्फ होचाइ बढी र खुृल्लाक्षेत्र पनि बढी हुनुपर्छ । भवनका सिँढीहरू, लिफ्ट दक्षिण वा दक्षिण पश्चिमतिर नै हुनुपर्छ । व्यापारिक पसलहरूमा सरसामान सजाउँदा दक्षिण पश्चिमतिर अग्ला र गह्रौँ सामानहरू राख्नुपर्छ । उत्तर पूर्वतिर होचा र हलुका सामान राख्नुपर्छ ।
पसलमा देवदेवीको मूर्ति राख्दा ईशानदिशामा, मूर्तिका पीठभाग पूर्व र मुखभाग पश्चिमतिर फर्केको हुनुपर्छ । सटरहरू धेरै भए पूर्व उत्तर मुख फर्केको सटरलाई बढी समय खुल्ला राख्नुपर्छ । पसलको भुइँ पनि उत्तर, ईशान वा पूर्वतिर केही होचो हुनुपर्छ । प्रवन्धक, मालिक वा व्यापारिक भवनका मुख्य व्यक्ति निर्देशकको कोठा दक्षिण पश्चिमतिर हुनुपर्छ र मुख भने पूर्व उत्तरतिर फर्कने गरी बस्नु पर्छ । कोठाका ढोकाहरू पनि पूर्व उत्तरतर्फ नै वढी हुनुपर्छ ।
पूर्वीयशास्त्र, पुराण, आगमशास्त्र, वेदको अध्ययन हिजोआज विकसित देशमा हुनेगरेको छ, नासाका वैज्ञानिकहरु संस्कृतको पारखी बन्न लागेका छन् । एसियाका संभ्रान्त मुलुकहरु थाइलैण्ड, सिंगापुर, चीनमा यसको खोजी छ । भरतखण्ड, जम्बुद्वीप, भारतवर्ष त यसको केन्द्रीय भाग हुँदै हो । वेद, पुराणका रचयिता व्यास, पराशर, वशिष्ठ आदिका तपस्थली नेपालको भूभाग हो तिनका नामबाट हिजोआज क्षेत्र, नगर, ग्राम, उद्यानहरुको नामकरण भएको छ, तर तिनका सन्देश पढ्ने, हेर्ने कसैलाई चासो छैन । मनुस्मृतिले सामाजिक व्यवस्थापन र सन्तुलन कायम राख्न प्रयास गरेको छ । यसले स्त्रीहरुको रक्षा, संरक्षणदेखि स्त्रीहरुको पूजा हुँदा देवताहरु प्रसन्न रहने भनेको छ । असहाय, दीन, दुःखीहरुको सेवालाई मानवधर्म भनेको छ । मत्स्यपुराण, अग्निपुराणले वास्तुशास्त्रको थप चर्चागर्दै गृहनिर्माण, आकार, प्रकार, प्रवेश समय, जीर्णाेद्धारका विधि, मानव जीवन वरिपरि रहने मठ, मन्दिर तिनको आकार, प्रकार, आयु, प्रतिष्ठा र प्रवेशविधि, निषिद्धवस्तुहरु, तिनको पूजापद्धति, प्रक्रिया, योग्यता, दिशा निर्धारण, तौल, उचाइ, गुणस्तर र तिनका सबल एवं दुर्बलपक्ष, कमी कमजोरीबाट हुने सम्भावित खराबी र तिनको उपचारात्मक र प्रबद्र्धनात्मक सबै कुराहरुको सन्देश दिएको छ । ज्योतिषविद्या तिनका स्वरुप, गति निर्धारणदेखि दैवी र सकारात्मक ऊर्जा प्राप्त गर्न घर, भवन निर्माणको थालनी, सर्ने समय र प्रक्रिया, शिलान्यास र वास्तुविधि, झ्याल, ढोकाको स्वरुप र गुणस्तर, घरको स्वरुप, उचाइ, जमिनको शल्यक्रिया र उपचार, तलाको स्वरुप, जग खन्दा अपनाउनुपर्ने विषयदेखि घरको स्वरुप तयारपछि गृहप्रवेशसम्म, प्रक्रिया, शुभसङ्केत र घर निर्माणपछि घरपरिवारको कल्याण, आयु, श्री, कीर्ति वृद्धि, सम्पत्तिको रखाइ, सेफको स्वरुप, तौल, दिशा निर्धारणदेखि सौभाग्य, भोग, आयु, कीर्ति र यश वृद्धिदेखि उपकार, दानको महिमा र स्वस्थ जीवनशैलीे चर्चा गरेको छ । जीवन केवल बाँच्नुमात्र नभएर बचाउनु पनि हो । अतएव उपकार, सेवा, प्रतिष्ठा, सामाजिकीकरण सम्मका कार्यहरुमा वैदिक ग्रन्थहरुले जोड दिएका छन् । अथर्ववेदले अर्थशास्त्रको अध्ययन, सम्पत्तिको सदुपयोगको सन्देश पनि दिएको छ । भोग भएर पनि योगको रुपमा भौतिक सम्पत्तिलाई प्रयोग गर्ने गरी सल्लाह दिने अथर्ववेदले स्थापत्य वैदिकपरम्परा अनुसार वास्तुशास्त्रको यथार्थ पहिचान, अध्ययन, विश्लेषण गरी मानवजीवनलाई इहलौकिक सुखसन्तोषका साथै पारलौकिक सुख आनन्दप्राप्तिको मार्गसमेत प्रशस्त गरेको छ ।
हामीले भविष्यपुराण, देवीभागवत, आयुर्वेदशास्त्र यसको चरकसंहितादेखि ऋग्वेद, यजुर्वेद र सामवेदसम्मको सामान्य जानकारी राख्न जरुरी छ । सामवेदको उपज हो– सङ्गीत, कला, नृत्य, गायन, वाद्यवादन, सङ्गीतका स्वर, ध्वनिदेखि सङ्गीत र कलाका आदिम साधन बाँसुरी, मुरलीदेखि आधुनिक साजसज्जा सहितका यन्त्रउपकरणहरु । वास्तुशास्त्रको विषय वास्तुकला, कलाकारिता, कार्यकौशलता, र मानवसभ्यता हो । उद्देश्यका बिन्दुहरुसम्म पुग्न मानवजीवन साधनामय हुन जरुरी छ । यस्ता ग्रन्थ, पुराणहरुको अध्ययन विश्लेषण, तिनको पद्धति पूजाप्रक्रिया, घरभित्र र घरबाहिर वैदिकचिन्तनको प्रभावकारिता तिनको उपयोग, राख्ने ठाउँ, पूजाकोठादेखि साधक बस्ने क्षेत्र, उपचारात्मक पूजापद्धति तिनका सरसामग्रीहरुको सूची, समय, सन्ध्यावन्दनका कुरा, बिहानीदेखि सन्ध्यासम्मका प्रक्रिया, रात्रिको अवस्थासमेत सबै विषयवस्तुहरुको सामान्य जानकारी हुन सके जीवन जिएको सार्थक हुन्छ ।
लेखक वास्तुशास्त्रका अध्येता हुन् ।