काठमाडौं । सूर्यदर्शन सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुको संघर्षलाई दबाउन खोजेको बताएका छन् ।
बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको संघर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरु बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए । उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए ।
सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले वचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताए । उनले आफूहरुको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे ।
सूर्यदर्शन सहकारी बचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई तुरुन्त पक्राउ गर्न माग गरे। उनले उनीहरुको सम्पत्ति लिलामी गरेर वचत फिर्ता गराउनका लागि आफूहरुले सरकारलाई दबाब दिइरहेको बताए ।
त्यसैगरी सूर्यदर्शन सहकारी वचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे । उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरुको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए । उनले कानूनअनुरुप सहयोग गर्न रास्वपा कार्यकर्ताहरुलाई आग्रह समेत गरे।

















