शेख हसिनालाई बंगलादेश फर्काउन भारतका दुई सर्त

पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेश फिर्ता पठाउने विषयमा भारतले त्यहाँको सरकारसमक्ष दुई सर्त अघि सारेको छ। टाइम्स अफ इन्डियाका अनुसार भारतले हसिनालाई लिन बंगलादेशले सैनिक विमान पठाउनुपर्ने र मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने अवसर सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको हो। सन् २०२४ अगस्टमा जनआन्दोलनपछि सत्ता छाडेर भारत पुगेकी हसिनालाई बंगलादेशको अदालतले प्रदर्शनकारीमाथि दमन गरेको अभियोगमा मृत्युदण्ड सुनाएको छ। भारतले उनलाई मृत्युदण्ड दिइने अवस्था नरहेको र मुद्दाको पुनः निष्पक्ष सुनुवाइ हुनुपर्ने अडान राखेको छ।

साथै, कानुनी प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय र सञ्चारमाध्यमको निगरानी हुनुपर्ने उसको माग छ। हसिनाले भने सन् २०२६ डिसेम्बरमा स्वदेश फर्किने र अदालतमा आत्मसमर्पण गर्ने योजना रहेको बताउँदै आएकी छन्। भारतको विदेश मन्त्रालयले पनि उनको प्रत्यर्पण कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ।