कीर्तिपुरमा कसले विजय झण्डा फहराउला ?

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भेगको कीर्तिपुर प्राचीन सहर हो । इतिहासकारहरूका अनुसार कीर्तिपुर गोर्खा राज्य विस्तार हुनुअघि त उपत्यकाको एउटा गणराज्यको रूपमा थियो । यहाँ दुईपटकसम्म गोरखाका राजा पृथ्वीनारायण शाहको फौजले पराजय बेहोरेको इतिहास पनि छ ।

सोही ऐतिहासिक नगरी कीर्तिपुुरमा यही १६ मंसिरमा नगर प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ । यहाँको उपनिर्वाचनलाई राजनीतिक दलहरूले प्रतिष्ठाको रूपमा लिएका छन् । किनभने देशका अन्य ४३ ठाउँमा हुन लागेको उपनिर्वाचन प्रमुख पदका लागि होइन ।

त्यही भएर यहाँ दलका शीर्षस्थ नेताहरूकै उपस्थितिमा उम्मेदवार घोषणा भयो । हाल शीर्ष नेताहरू नै उम्मेदवारलाई भोट माग्न व्यस्त छन् । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेकाहरू पनि चुनावी माहोल बनाउँदैछन् ।

गत स्थानीय तह निर्वाचनमा देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेको अवस्थाबीच यसपटक कीर्तिपुर नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दलहरूबाट भन्दा बढीको परेको छ ।

जबकि, २०७९ अघिसम्म कीर्तिपुर नगरपालिका कम्युनिस्टको गढ मानिन्थ्यो । किनभने २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा एमालेका हीराकाजी महर्जन नगर प्रमुख निर्वाचित भएका थिए । त्यसपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेकै रमेश महर्जन मेयर निर्वाचित भए । एकपछि अर्को स्थानीय निर्वाचन कम्युनिस्ट उम्मेदवारले जितेका कारण कम्युनिस्ट गढ भनिएको थियो ।

तर, २०७९ मा कांग्रेसका राजकुमार नकर्मी नगर प्रमुख निर्वाचित भए । ४ नम्बर वडा पनि कांग्रेसकै बागी उम्मेदवारले जितेकाले एकप्रकारले भन्दा यहाँ कांग्रेसले कम्युनिस्टको गढमा क्लीन स्विप गर्‍यो । यसले गर्दा आगामी उपनिर्वाचनमा कीर्तिपुर नगर प्रमुखमा के कांग्रेसले फेरि बाजी मार्ला ? कि एमालेले आफ्नो पुरानो विरासत फर्काला ? कि २०६४ मा माओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्र हुनाले माओवादीले पहिलो जित दर्ता गर्ला ? यसै भन्न सकिँदैन । अर्कोतिर कीर्तिपुरको नगर प्रमुख स्वतन्त्र उम्मेदवारले नजित्लान् भन्न पनि सकिँदैन । यसकारण कीर्तिपुुर नगरपालिकाको उपनिर्वाचनले देशवासीको ध्यान खिचेको छ ।

यहाँ कांग्रेसले नगर सभापति कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ । मतदातासँग मत मागिरहेका उनी कीर्तिपुुरवासीलाई नगरप्रमुखको रूपमा आफूूलाई निर्वाचित गर्ने विश्वास गर्छन् । तर, चुनाव जित्ने विश्वासले मात्रै होइन । प्रतिस्पर्धीहरूले भन्दा एक भोट भए पनि बढी प्राप्त गर्नैपर्छ । अनि, मात्रै जित निश्चित हुन्छ ।

उनै डंगोलसँग चुनावी प्रतिस्पर्धामा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० का इञ्चार्ज मानन्धर प्रभावशाली उम्मेदवार हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बन्दा उनले काठमाडौं १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्दा बढी मत पाएका थिए । चुनाव भने कांग्रेसका राजन केसीले जिते ।

त्यसपछि प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएका डा. मानन्धर यसपटक भने नगर प्रमुखका लागि प्रतिस्पर्धामा उत्रिँदैछन् । २०४३ सालदेखि पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा सक्रिय मानन्धनर एमालेको केन्द्रीय सांस्कृतिक विभाग, विदेश विभाग, विद्यार्थी विशेष जिल्ला कमिटी लगायतमा काम गरेका नेता हुन् । उनले आगामी १६ मंसिरमा उपचुनाव जित्ने यसअघि नै दाबी गरेका छन् ।

अर्को प्रतिस्पर्धी दल नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई बनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै उपस्थितिमा माओवादीले महर्जनलाई उम्मेदवार तय गरेको हो । शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय उनलाई नगर प्रमुखको बलिया उम्मेदवार मानिएको छ ।

उनी माओवादीको नेपाल बुुद्धिजीवी संगठनको काठमाडौं अध्यक्षसमेत हुन् । उनले गत निर्वाचनमा झण्डै एमाले उम्मेदवारले जति मत पाएका थिए । उम्मेदवारी घोषणाको क्रममा उनले यसपटक कीर्तिपुरवासीले आफूूलाई विश्वास गरेर निर्वाचित गराउने दाबी गरेका छन् ।

राप्रपाले यहाँ इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । सांगठानिक रूपमा कीर्तिपुरमा राप्रपा कमजोर छ । तर, उनी चुनावी मैदानमा होमिएपछि राप्रपाले पनि माहोल बनाएको छ । माहोलका आधारमा चुनाव जित्ने दाबी उनको छ । स्वतन्त्र रूपमा यहाँ सरसफाइ अभियन्ता राजमान मानवले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । नेवा: लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।

आफूलाई काठमाडौं महानगरका प्रमुख बालेन शाह र धरानका प्रमुख हर्कराज साम्पाङको समर्थन रहेको उनले बताएका छन् । उनी डेढ दशकदेखि सरसफाइ अभियानमा संलग्न छन् । उनले सरसफाइ कार्यक्रममार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको दाबी गरेका छन् । त्यही भएर सबै दल मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ । यदि, बालेनको समर्थन राजमानलाई साँच्चिकै हो भने राजमानले दलीय उम्मेदवारविरुद्ध जित ननिकाल्लान् भन्न सकिँदैन ।

कारण, राजनीतिक व्यवस्था परिवर्तनका लागि दशकौँ लडेका दलहरूले चलाएको सरकारप्रति जनतामा निराशा छ । यस्तोमा स्वतन्त्र उम्मेदवार मतदाताको रोजाइमा पर्ने सम्भावना उत्तिकै हुने राजनीतिक विश्लेषकहरूको मत छ । यहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले माओवादी उम्मेदवार महर्जनलाई समर्थन गरेको छ । अन्य दलहरू भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका हुन् ।

जनता समाजवादी पार्टीले दीपक महर्जन, जनमत पार्टीले केशव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले श्रीकृष्ण महर्जन र नेपाल समाजवादी पार्टीले दिलकुमार महर्जनलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारहरू मानवसँगै धर्मरत्न मानन्धर, नवरथकुमार बानियाँ, प्रेमबहादुर महर्जन, नरेश श्रेष्ठ, दिनेशकुमार अधिकारी, रामकृष्ण महर्जन, मिम महर्जन, आनन्द महर्जन, नरेशराज पाण्डे र कविकुमार महर्जन छन् ।

यस्तो छ– पछिल्ला दुई चुनावको मतपरिणाम

स्थानीय चुनाव २०७९

राजकुमार नकर्मी– कांग्रेस – ९०४३ मत
केशरत्न बज्राचार्य – एमाले – ५५०७ मत
प्रा.डा. शिवशरण महर्जन – माओवादी ४०९० मत
बटुकृष्ण थापा– नेकपा एस – ११५३ मत
जितबहादुुर विष्ट– राप्रपा – ५७२ मत
श्रीकृष्ण महर्जन– नेमकिपा – ५३२ मत
स्वतन्त्र – मनोज बुुढाथोकी ३६५ मत

०००
स्थानीय निर्वाचन २०७४

रमेश महर्जन – एमाले – ७३६० मत
राजकुमार नकर्मी – कांग्रेस – ६६१६ मत
हीराबहादुर महर्जन – माओवादी– ४००९ मत
ध्रुव महर्जन – नयाँ शक्ति– १५२१ मत
श्यामकुमार अधिकारी –स्वतन्त्र – ८९२ मत
बच्चुराम श्रेष्ठ –राप्रपा – २७९ मत
हरिकुमार महर्जन – नेमकिपा – २७६ मत