अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित वीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’

पालिका भित्रका सवै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच मंगलबार उनीहरुलाई सम्मान गरिएको उहाँले जानकारी दिए । ‘‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देस्य हो, उनले भने, ‘‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’’

दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए। ‘‘दीर्घकालिन रुपमा उनहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उनले भने ,‘‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ।’’