‘नो केवलकार’ आन्दोलन

तल्लो फेदीमा सुरक्षा तैनाथीले आन्दोलनकारी सडकमा

ताप्लेजुङको प्रशिद्ध मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा केवलकार निर्माण नगर्न दबाब दिँदै आएको सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएको छ । यसअघि पक्राउ परेका तीन जना आन्दोलनकारीमाथि शारिरीक यातना दिने कार्यमा संलग्न प्रहरी र केवलकार निर्माण पक्षलाई आगामी १० माघसम्ममा कारबाही नगरिए, तल्लो फेदीबाट सुरक्षाकर्मी नहटाए र केवलकार निर्माण योजना खारेजी नभए आन्दोलनलाई सशक्त पार्ने चेतावनी विज्ञप्तिमार्फत समितिले दिएको हो ।

यही १५ पुसमा मुकुम्लुङ संरक्षण सङ्घर्ष समितिको टोलीमा रहेका जनम इधिङ्गो, सुशील नुगो र सञ्जोग नुगोलाई केवलकार निर्माणका लागि स्थानीय ठेकेदार रहेका इन्द्र केदेम पक्षले कुटपिट गरेको थियो । उल्टै प्रहरीले उनीहरूलाई हिरासतमा राखे । हिरासतमा रहँदा तिनै जनालाई प्रहरीले शारिरीक यातना दिएको आइतबार साँझ रिहा भएपछि उनीहरूले बताएको मुकुम्लुङ संरक्षण आन्दोलनमा क्रियाशील किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।

नुगोद्वय भने १८ वर्षभन्दा कम उमेरका हुन् । तर, उनीहरूलाई समेत प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेर कुटपिट गरेको तुम्बापोले बताइन् । उनका अनुसार कुटपिटमा संलग्न प्रहरीसँगै केवलकार निर्माणमा संलग्न स्थानीय ठेकेदार केदेम पक्षलाई कारबाही गर्न आन्दोलनरत पक्षले माग गरेको हो ।

चुम्लुङकी महासचिव तुम्बापोका अनुसार स्थानीय आदिवासी लिम्बू (याक्थुङ) समुदायको मागलाई बेवास्ता गर्दै सुरक्षाकर्मी परिचालन गरेर बलपूर्वक केवलकार निर्माण गर्न लागिएको छ । त्यसविरुद्ध निरन्तर सङ्घर्ष गरिरहने उनले चेतावनी दिइन् ।

‘तल्लो फेदीमा प्रदेश सरकारले नै प्रहरी खटाएको छ । सशस्त्र प्रहरी लगेर राखिएको छ । एक जना होटल व्यवसायीलाई विस्थापित गरेर सुरक्षाकर्मी राखिएको छ’, उनले सानन्यूजसँग भनिन्, ‘जबकि त्यहाँ सुरक्षाकर्मी नै चाहिँदैन । तर, आन्दोलनकारीमाथि दमन गराउन सुरक्षाकर्मी लगेर राखिएको छ । हामीले भनिरहेका छौँ कि त्यहाँबाट तत्काल सुरक्षाकर्मी हटाइयोस् ।’

आइतबार आन्दोलनकारीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन गरेर तल्लो फेदीबाट सशस्त्र र नेपाल प्रहरीलाई हटाउन दबाब दिएका थिए । तर, शर्मा दुवै सुरक्षा निकायलाई हटाउन तयार देखिएका छैनन् । तुम्बापोले भने आदिवासीको थातथलोमा बलजफ्ती कुनै संरचना बनाउनु परे सरकार पक्षले पहिले प्रहरी लाने, त्यसपछि सशस्त्र प्रहरी हुँदै अन्ततः सेना लगेर दमन गर्ने गरेको सुनाइन् । हाल मुकुम्लुङमा सरकारले त्यसै गरेको भन्दै उनले आक्रोश पोखिन् । उनका अनुसार अहिले त्यहाँ केही मान्छेलाई सरकारले किनेर आन्दोलनकारीविरुद्ध खडा गरेको छ ।

केवलकार निर्माण आयोजनाको भने गत २३ कात्तिकमा मेसिन लगेर शिलान्यास गरिएको थियो । त्यसबेला सरकार पक्षबाट बल प्रयोग भएको थियो । मजदुर अर्जुन लिम्बुमाथि ठेकेदार पक्षबाट खुकुरी प्रहार भएको थियो । अर्जुन घाइते भए । तर, किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयले लिएन । जिल्ला अदालतले पनि दर्ता गर्न अस्वीकार ग¥यो । हतियार प्रहार भएका अर्जुनले कर्तव्य ज्यान उद्योगसम्बन्धी जाहेरी दिएका थिए । यसपछि अर्जुन उजुरीका लागि उच्च अदालत इलाम आए । त्यहाँ भने दर्ता भएको छ । तर, अदालतले मुद्दामाथिको कारबाही थालेको छैन ।

आइतबार आन्दोलनरत पक्षले १५ पुसमा पक्राउ परेका तीन जना आन्दोनलकारीको रिहा, केवलकार निर्माण योजना खारेज गर्न र तल्लो फेदीबाट सुरक्षाकर्मी फिर्ता लिएर मुकुम्लुङमा सैनिकीकरण बन्द गर्न माग गर्दै चक्काजाम गरेको थियो । सोही क्रममा झापामा आन्दोलनकारीहरू काङ्सोरे लावती र यलम्बर याक्थुङ्बा पक्राउ परेका थिए । उनीहरू पनि आइतबार साँझ रिहा भएका छन् । तर, तल्लो फेदीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा तयार देखिएका छैनन् । शर्माले भने, ‘अहिले सुरक्षाकर्मी हटाउनेबारे केही सोचिएको छैन ।’

यसअघि आन्दोलनकारीको दबाबपछि तल्लो फेदीबाट सशस्त्र प्रहरी हटेका थिए । यद्यपि, प्रहरी र सशस्त्र दुवै सुरक्षा निकायलाई लगेर पछिल्लोपटक सरकारले राखेको हो । यसलाई आन्दोलनकारीहरूले जबर्जस्ती केवलकार निर्माण गर्न सरकारी पक्ष अघि बढेको अर्थमा बुझेका छन् ।

आन्दोनलकारीहरूले पवित्र मुन्धुमीस्थलमा केवलकार बनाउनु अनुचित भन्दै आएका छन् । हुन पनि केवलकार निर्माण गर्दा त्यहाँ हजारौँ रुख कटान भइसकेको छ, जसले पर्यावरणीय सन्तुलनमै खल्खल पु¥याउन सक्ने चिन्ता प्रकट भइरहेको छ । अर्कातिर हाल मुकुम्लुङका कारण करिब ८ सय परिवारले जीवन निर्वाह गर्दै आएका छन् । उनीहरूले असक्त र अपाङ्गता भएका लगायतलाई बोकेर मुकुम्लुङ पु¥याउँछन् । त्यसवापत निश्चित शुल्क लिन्छन् । त्यसले ठूलो परिवारलाई रोजगारी प्रदान गरेको छ ।

केवलकार निर्माण विरुद्धको सङ्घर्ष समितिमा रहेकी तुम्बापो भन्छिन्, ‘यदि चन्द्र ढकालले त्यहाँ केवलकार निर्माण गरे ८ सय बढी परिवारले रोजगार गुमाउँछन् । उनीहरू बाध्य भएर विदेशिनुपर्छ । अहिले त कमसेकम रोजगारी पाएका छन् । पछि गुम्छ ।’ मुकुम्लुङ देशकै तेस्रो बढी भेटी सङ्कलन हुने धार्मिक केन्द्र हो । भेटीलाई राज्यकोशमा जग्मा गर्ने गरिन्छ । टाढाटाढादेखि मनोकांक्षा पूरा होस् भनेर जाने भक्तजनहरूले भेटी चढाउने गरेका छन् । आस्थाको केन्द्र भएकाले शीर निहु¥याएर मनोकांक्षा पूरा होस् भन्छन् । तर, त्यस्तो पवित्र धार्मिक केन्द्रमाथि केवलकार कुदाउनु गलत हुने उनीहरू बताउँछन् ।

केवलकार निर्माण परियोजनाले तीनवटा स्थानीय तह प्रभावित हुन्छन् । फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिका हुन् । हालसम्म फुङलिङबाहेकका दुवै स्थानीय तहले केवलकार निर्माण लागि सहमति दिएका छैनन् । तर, पनि परियोजना निर्माण कार्य दमन गराएर भए पनि अघि बढाउने पक्षमा ठेकेदार कम्पनी देखिएको छ । यही १५ पुस र २३ कात्तिकको घटनाले त्यही पुष्टि गराउँछ । यसप्रति नागरिक समाजले विरोध गरेको छ । विकासको नाममा दमन बन्द गर्न सरकारलाई चेतावनी दिएको छ ।

विज्ञप्ति जारी गरेर नागरिक समाजले ऐतिहासिक–सांस्कृतिक सम्पदा मुन्धुमी भूमि ताप्लेजुङस्थित मुक्कुमलुङको वृहत्तर संरक्षणका लागि त्यहाँका आदिवासी लिम्बुलगायत स्थानीय समुदायहरू विगत ७ वर्षदेखि निरन्तर संघर्षरत जनाएको छ । विकासको नाममा भ्रम छर्दै बहुप्रजातियुक्त जल, जंगल, जमिन, संस्कृति, सम्पदाहरू मासेर निश्चित लगानीकर्ता र कम्पनीले मात्रै नाफा कमाउने पाथीभरा दर्शन केवलकार बनाउने कार्यको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा आन्दोलनरत रहेको उल्लेख गरेको छ । तर, शान्तिपूर्ण विरोधलाई संवाद र सहमतिमा रुपान्तरण गर्नुको सट्टा शक्ति र सत्ताको आडमा जुनसुकै स्थितिमा भए पनि केवलकार बनाइछाड्ने बलमिच्याइ, सुरक्षा संयन्त्रको ज्यादतीपूर्ण हस्तक्षेप, मनोमानी ढंगले निहत्था नागरिकहरूलाई पक्रिनु र कुटपिट गरिनुजस्ता कार्यप्रति गलत भएको समाजले विज्ञप्तिमा उल्लेख गरेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमुक्तिलगायत दलले पनि दमनको विरोध गरेका छन् ।

कसरी बन्दैछ केवलकार ?
मुकुम्लुङको फेदी काफ्लेपाटीमा केबलकारको तल्लो स्टेशन रहने छ । यो सदरमुकाम फुङलिङबाट २२ किलोमिटर टाढा छ । यहाँ स्टेशन निर्माणका लागि व्यवसायी चन्द्र ढकालले करिब ६० रोपनी जग्गा किन्ने प्रक्रिया अघि बढाइसकेका छन् । तल्लो स्टेशनमा मेकानिकल र इलेक्ट्रिकल हाउस, ड्राइभिङ मेसिनसरी, टिकट घर, कन्ट्रोल रुम र केबलकारको पार्किङस्थल रहने भनिएको छ । त्यहाँ कार पार्किङ एरिया र ढकालले सञ्चालन गर्ने रेष्टुरेन्ट र पसलहरू सञ्चालन गरिनेछ । यो तल्लो स्टेशनमा केबलकारको मुख्य ड्राइभिङ स्टेशन रहनेछ ।

फेदीबाट २ दशमलव ७ किलोमिटरको दुरीमा मन्दिर छेउको माथिल्लो स्टेसनमा पुगिने छ । एकतर्फी केबलकार ९ मिनेटमा पार हुनेछ ।
पाथीभरामा ४३ वटा गोन्डुला (केबलकारका डिब्बा) सञ्चालनमा ल्याइने छ । ढकालले सञ्चालनमा ल्याउने केबलकार र होटल दैनिक १० घण्टा सञ्चालन हुनेछ । दैनिकरूपमा १० हजार यात्रु बोक्ने क्षमता रहने सञ्चालकको दाबी छ । वर्षमा ३५० दिन चल्ने र वार्षिकरूपमा ३ करोड ५० लाख यात्रु ओसार्न सकिने कम्पनीको दाबी छ ।

डेढ वर्षमा केबलकार सञ्चालनमा आइसक्ने दाबी गरिएको छ । पहिलो २ वर्ष २० प्रतिशत क्षमतामा सञ्चालन हुनेछ भने त्यसपछिका ६ वर्षसम्म क्रमशः १० प्रतिशत क्षमता बढ्दै जाने र सातौं वर्षदेखि ६० प्रतिशत क्षमतामा केबलकार चल्ने बताइएको छ । केबलकारको कुल लागत ३ अर्ब ८ करोड ७६ लाख ३२ हजार ३२० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यसमध्ये ७५ प्रतिशत बैंकको ऋणमा आयोजना निर्भर रहनेछ । बैंकहरूबाट १२ वर्षका लागि १२ प्रतिशत ब्याजदरमा ऋण लिने कम्पनीको योजना छ ।