रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको आदेश

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बुधबार अदालतले लामिछानेलाई अदालतमा राख्न आदेश दिएको हो ।

थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न भोली ११ बजे उपस्थित गराउने गरी लामिछानेलाई सुरक्षाकर्मीको जिम्मा लगाई जिल्ला प्रहरी कार्यालय पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ ।

बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् ।

त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।