इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले यो प्रस्ताव अघि सारेका थिए ।
रमजान र यहुदीहरूको चाड निस्तारलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहूले बताएका छन् । शनिवार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो ।
विटकफको यो नयाँ प्रस्ताव अन्तर्गत दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने ४२ दिन पछि इजरायलले पुन: लडाइँ सुरु गर्न सक्नेछ । इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहेको छ तर हमास दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ ।
यसैबिच, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शनिवार इजरायललाई लगभग ४ अर्ब डलर बराबरको सैन्य सहायता वितरणलाई तीव्रता दिने सहमति भएको बताएका छन् ।


















