प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका सबै क्षेत्रमा महिला र पुरुषको समान सहभागिताको महत्वमा जोड दिएका छन्। नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले उनले यस सहभागिताको आवश्यकतामाथि जोड दिए। गरिबी उन्मूलन,सामाजिक न्याय र समानता स्थापना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्दै समान सहभागिताका माध्यमबाट समाजलाई अगाडि बढाउनुपर्ने कुरामा प्रधानमन्त्रीले जोड दिए।
राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ तर शिक्षा, उद्यम र रोजगारीमा मात्र ध्यान केन्द्रित गर्न नहुने उनले बताए। सरकार र निजी क्षेत्रबिचको बढ्दो सहकार्यले उद्यम विकास र महिला सशक्तिकरणलाई प्रोत्साहित गरेको उनले बताए। उनले सुशासन र आर्थिक विकासका लागि सरकारको प्रतिबद्धतामा जोड दिए।
कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणलाई प्राथमिकता दिएको बताए।


















