काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।
कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ गतेबाट अवकाश हुदै छन ।
टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औँ आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सोमबार बिहान आईजीपी नियुक्ति गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
प्रहरीको ३१ औँ आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।


















