कविता, कथा, उपन्यास, लोकगीत, नाटक, यात्राविवरण तथा संस्मरणहरू इतिहास लेखनका स्रोत हुन् । नेपालको इतिहास यस्ता स्रोतहरूको प्रयोग गरी इतिहास लेखन विधाले खासै प्रोत्साहन पाएको छैन । राजनीतिक इतिहास त्यसमाथि शासकहरूको सेरोफेरोमा मात्र इतिहास लेखन कार्यले धेरै कालसम्म सर्वाधिक प्राथमिकता पायो । त्यसैले जनमानसमा इतिहास भनेको वंशावली हो, शासकको गुणानुवर्णन हो भन्ने भान परेको छ ।
जनताको इतिहास लेख्ने जाँगर हाल देखिन थालेको छ । नेपालको सामाजिक इतिहास लेखनमा पनि तत्कालीन कागजपत्र साहित्यिक स्रोत वंशावलीहरू नै प्रमुख स्रोत हुन पुगेका छन् । गीतले तत्कालीन समाज रीतिथिति जनविश्वास चालचलन जस्ता विविध सामाजिक पक्ष बुझ्न सहज हुन्छ । नेपालमा लोकगीतहरू श्रुति परम्पराको बहुलताका कारण हिजोसम्म बूढा मरे भाका सरेको अवस्था थियो तर आज आएर यो स्थितिमा परिवर्तन भएको छ । श्रुति परम्परा ह्रास हुँदै जाँदा अतीतको अनुभव पछिल्लो पिँढीमा सहजै पुस्तान्तरण हुन सकेको छैन । यसै पृष्ठभूमिमा आज संसारका आत्मवृत्तान्त वा आत्मकथा प्रकाशन गर्ने कार्यमा उत्साहजनक प्रगति भएको छ । नेपालमा लोकगाथा, लोकसंगीत, लोकविश्वास जस्ता विषयमा अध्ययन अनुसन्धान त हुँदैछ तर अपेक्षित मात्रामा हुन सकेको छैन । बिहेमा श्लोक हाल्ने संगीनी गाउने रत्यौलीमा व्यङ्ग्यात्मक गाना गाउने जस्ता प्रचलनमा बिस्तारै कमी आउँदै छ । यी सबै सांस्कृतिक धरोहरलाई संरक्षण गर्न अब ढिला गर्नु हुँदैन भन्ने आवाजलाई बुलन्द गर्ने समय आएको छ । मौखिक स्रोतहरूबाट तत्कालीन विविध पक्षको सचिव चित्रण हुन्छ गहिरिएर हेर्दा ।
गीतमा जनजीवनका सुखदु:ख, हर्षविस्मात, आशानिराशा, संयोगवियोग आदिको अभिव्यक्ति लुकेको हुन्छ । गीतमा सामाजिक जीवन, रहनसहन, आचारविचार, विश्वास, मान्यता, आक्रोश आदि समकालीन सामाजिक जीवनका विविध पक्षहरू लुकेका हुन्छन् ।
नेपालमा मुलुकलाई संकट परेको बेलामा गन्धर्वहरूले गीतको माध्यमबाट नवयुवकहरूलाई युद्धको मैदानमा होमिन ऊर्जा प्रदान गरेका थिए । उनीहरूको गीतबाट तत्कालीन समयमा युवाहरू आफ्ना अभिभावकको इच्छाविपरीत सेनामा स्वतस्फुर्त रूपमा भर्ना भएका थिए । सेलो, सबाई, सिलोक आदि परम्पराहरू श्रुति परम्परामा पुस्तान्तरण भएका छन् । संगिनी गाउने चलन पनि आज लोप हुने स्थितिमा छ भने बालनको पनि त्यस्तै त्यस्तै स्थिति छ । तर, यी सबै विधालाई जोगाउनुपर्छ भन्ने चेत बढेको छ । यस पृष्ठभूमिमा क्षेत्रप्रताप अधिकारीले लेखेको कुन्ती मोक्तानको स्वरको निम्नलिखित गीतका आधारमा नेपालको ग्रामीण समाजको चित्रण गर्ने उद्देश्य यस लेखको रहेको छ ।
गीत यसप्रकार छ :
आँखा फरफरायो मेरो आँखा फरफरायो
राम्रो खबर आउँछ क्यारे आँखा फरफरायो ।
विदेशतिर जान्छु भन्थे
जागिर खोजी खान्छु भन्थे ।
निकै भयो सपनीमा देखेको नि छैन
निकै भयो चिठीपत्र लेखेको नि छैन ।
घाँटी खसखसायो फेरि घाँटी खसखसायो
मेरो कुरा गर्दै होलान् घाँटी खसखसायो ।
दुई वर्षमा आउँछु भन्थे
मलाई के के ल्याउँछु भन्थे ।
भएको केही चाहिँदैन तिमी आइपुग्छ
जुनीभरि तिम्रो मलाई माया पाएपुग्छ ।
आगो भरभरायो आज आगो भरभरायो
मेरो हजुर आउँछ क्यारे आगो भरभरायो ।
यो कणप्रिय गीत सुन्दै जाँदा यसभित्र नेपाली समाजको चित्रण पाइन्छ । यो बिरहको गीतले एक नवविवाहित युवतीको क्रन्दन, विश्वास र मान्यताको प्रतिबिम्बित गर्दछ । यसैगरी समाजमा प्रचलित लोक विश्वासको चित्रण छ भने तत्कालीन नेपालको सञ्चार व्यवस्थाको स्थिति पनि बुझ्न सकिन्छ । यो गीतको विषयवस्तु विचार गर्दा यसले विसं २००० देखि २०२० ताकाको नेपालको सामाजिक चित्र खिच्न सकिन्छ । यस गीतले प्रवाह गरेको तत्कालीन नेपालको चित्रण संक्षिप्तमा उल्लेख गर्न मनासिब छ ।
नेपालीहरूले मुलुकमा नै पर्याप्त रोजगारी नपाउँदा, खाद्यान्न सङ्कट, दैवी प्रकोप, पारिवारिक विपत्तिलगायतमा साहुको ऋण तिर्न आफ्ना लालाबालाको खुसीका लागि भोट वा मुग्लान जाने चलन थियो । लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा पनि मदन दौलत कमाउन भोट पुगेका थिए । यसैगरी धेरै नेपालीहरू कुल्ली, सुरक्षा गार्ड, सुरक्षाकर्मी भई हिन्दुस्तान जाने प्रचलन धेरै पुरानो हो । सन् १८१६ पश्चात् यो संख्यामा तीव्र वृद्धि हुँदै गइरहेको छ । हाल त पढेलेखेका युरोप, अमेरिका, अस्ट्रेलिया आदि देशमा र बलियाबाङ्गा सबै खाडी र अन्य मुलुकमा श्रम गर्न जाने संख्या अत्यासलाग्दो हुँदै छ । यस्तै अवस्थामा नेपालको अमुक स्थानको अमुक युवक आफ्नी भर्खरै विवाह भएकी जवान पत्नीलाई घरमा छाडी विदेश गएकोमा तिनै महिलाको बिरह यस गीतमा व्यक्त भएको छ । जागिर खानका लागि विदेश गएको विदेशमा कमाइ गरी आफ्नै श्रीमतीलाई के के गहनागुरिया लुगाफाटो आदि ल्याइदिने वचन पनि दिएका थिए तर श्रीमान्को अभाव हुँदा माया मात्र चाहिने अरू केही आवश्यकता नपर्ने भएकाले घर फेरि आउने चाहना राखेको देखिन्छ । हालसम्म पनि बूढाबूढी बाबुआमा श्रीमती र ससाना छोराछोरीलाई घरमा छाडी साहुबाट चर्को ब्याज कबुली विदेश जानेहरूको पीडा पनि यस्तै छ । हिजो अस्ति आजकलको जस्तो मोबाइल टेलिफोन इन्टरनेट आदिको सुविधा छँदै थिएन । चिठीपत्रकै माध्यमद्वारा क्षणकुशल आदानप्रदान हुन्थ्यो । चिठीपत्रका लागि ग्रामीण समाजमा दिनहुँ हुलाकी को बाटो हेर्दै पत्रको आश गर्नेहरू धेरै हुन्थे । ती युवती पनि धेरै कालमा चिठी नआई सन्चो बिसन्चोको खबर नपाउँदा पिरोलिएकी थिइन् ।
हाम्रो समाजमा सपनामा विश्वास गर्ने अझै पनि धेरै मानिसहरू छन् । सपनामा के देखे राम्रो, के देखे नराम्रो ? राम्रो सपना देखे के गर्ने, नराम्रो सपना देखे के गर्ने ? भन्नेजस्ता विषयमा अनेकौँ जनविश्वास कायम छन् आफ्नो प्रिय मानिससँग विपनामा नभए सपनामै सही भेट गर्न पाए हुन्थ्यो भन्ने चाहना धेरैको हुन्छ यसै सन्दर्भमा चिठी पनि धेरै कालदेखि नआएको र सपनामा पनि आफ्ना श्रीमान्लाई देख्न नपाउँदा ती युवती भावविह्वल भई विरक्तिएकी देखिन्छिन् ।
हाम्रो समाजमा धुरीमा काग कराए पाहुना आउँछन् र पटकपटक कराएमा अपशकुन हुने विश्वास छ । राति हाफसिलो कराए कुकुर रोए अनिष्ट हुने आशंका गरिन्छ । यस्तैमा आँखा फरफराए राम्रो खबर आउने अपेक्षा गरिन्छ । महिलाको देब्रे आँखा र पुरुषको दाहिने आँखा फरफराए राम्रो हुने तथा विपरीत आँखा फरफराए ठीक उल्टो हुने सम्झिने गरिन्थ्यो । यसैकारण आँखा फरफराउँदा ती युवतीले राम्रो खबर पाउने आश गरेकी हुन्छिन् । दुई वर्षमा आउने वचन दिएकोमा उक्त अवधि बिताउन उनलाई ठूलो मानसिक कष्ट भएको प्रतीत हुन्छ ।
कसैको अनुपस्थितिमा सम्बन्धितको कुरा गरेमा घाँटी खसखसाउने गरेको भन्ने चलन छ । कसैको कुरा काटेमा घाँटी खसखसाउने र सम्झना गरे बाडुल्की लाग्ने गर्छ भन्ने पनि विश्वास छ । यसैकारण घाँटी खसखसाउन पनि ती युवती आफ्ना खसमले आफ्नै कुरा अरूसँग गरेको हुन सक्ने विश्वास गर्छिन् ।
हालसाल आगो बाल्ने पनि कुनै उत्सव र रमाइलोका लागि हुने गर्दछ तर हिजोको समाजमा दाउरा नै इन्धनको प्रमुख स्रोत थियो खाना बनाउन दाउराको प्रयोग हुन्थ्यो जाडोमा आगो ताप्ने चलन गाउँघरमा आज पनि यदाकदा देख्न पाइन्छ । यो आगो फरफराएको आजको पुस्ताले देखेको नै हुँदैन र आगो फरफराएको कुरा दन्त्य कथा जस्तो लाग्न सक्छ । आगो फरफराए त्यस दिन घरमा पाहुना आउने विश्वास गरिन्थ्यो ।
आज बिहान आगो फरफराएको थियो यहाँको स्वागत गर्न पाएँ भनी पाहुनाप्रति आदरभाव प्रकट हुन्थ्यो । यसै कारण आगो फरफराउँदा पनि ती युवती आफ्नै श्रीमान् घरमा आउने आशा गर्छिन् । यो गीत त एउटा उदाहरणका रूपमा मात्र यहाँ प्रस्तुत गरिएको हो । गीत संगीतले प्रवाह गरेका सूचनाको स्रोत प्रयोग गर्दा इतिहासमा लुकेका अनेकौँ घटनाहरू उद्घाटित हुने निश्चत छ तर आज शिलालेख अभिलेख कलाकृति पुरातात्त्विक वस्तुहरूको खोजबिन र सुरक्षा गर्न मुलुकले केही ध्यान दिएता पनि मौखिक स्रोतको अध्ययन अनुसन्धानमा अपेक्षित ध्यान पुग्न सकेको छैन ।
अत: गीत संगीतलाई पनि इतिहासका भरपर्दा स्रोत हुन् भनेर अध्ययन अनुसन्धान गर्न आवश्यक छ । यस्ता गीतहरूबाट जनताको इतिहास अझै बलियो हुने आधार मिल्छ । यस विषयमा विद्यार्थी शोधार्थीहरूको ध्यान जान सकेको छैन । अत: सबैको ध्यान जाओस् भन्ने कामना गरौँ । अस्तु !


















