सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ को म्युजिक भिडियो सार्वजनिक

सुनुवार (कोइँच) भाषाको गीत टुङ्ना ताप्स्यो (टुङ्ना बजाएको) को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार शंखमूलको एक होटलमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ संगीतकार शान्तिराम राईले सार्वजनिक गरेको यस गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारको स्वर रहेको छ।

भिडियोले सुनुवार युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेर रमाइलो गरेको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ। यस गीतमा सुनुवार जातिको परम्परागत पोसाकलाई राम्ररी देखाउन खोजिएको छ ।

भिडियोमा सुजन सुनुवार, कल्पना सुनुवार लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि सुनुवारलेनै गरेका हुन्। उक्त गीत किङ्स स्टुडियोमा रेकर्ड भएको हो भने भिडियो निर्माण पी.आर. प्रोडक्सनले गरेको छ र छायांकन सनम तामाङले गरेका छन्।