धनकुटा-धरानको बाटो : एकादेशको कथा

हिजोआज पैदल यात्रा गौरव र सोखको विषय बनेको छ। रमाइलोको लागि तथा नयाँ अनुभव गर्न पैदल यात्रा गर्ने एक प्रकारको लहड विश्वभर नै चलेको देखिन्छ तर विगतमा पैदल यात्रा बाध्यता थियो। पैदल हिँडेरै हाम्रा पुर्खा देश देशावर पुगेका थिए । ६ महिना वर्ष दिनको पैदल यात्रा गरी तीर्थाटन गरेका अनेकौं उदाहरण पाइन्छन् । अरुको कुरा नगरौँ। म धनकुटामा जन्मेर हुर्केको मान्छे पैदल यात्रा गरेर नै धरान, तेह्रथुम, भोजपुर, चैनपुर, ताप्लेजुङ जस्ता स्थानको भ्रमण गरेको छु । धनकुटाबाट धरान कति गरियो यसको लेखाजोखा नै छैन । विसं २०३८ सालमा मात्र धनकुटामा गाडी गुड्न थालेको हो । आज कता कता केटाकेटीमा धनकुटा धरान हिँडेको सम्झना आयो । सोही सम्झौटोले लेखको यो स्वरूप लिएको हो। यस आलेखमा धनकुटाबाट धरानसम्मको यात्राको संस्मरण उल्लेख गर्न खोजिएको छ । वास्तवमा श्रुतिपरम्परा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा यस्ता संस्मरणहरू भावी पुस्ताका लागि रोचक लाग्न पनि सक्लान्।
घटना हो, विसं २०२० सालको माघ महिनातिर हुनुपर्छ, बिहानै उठी आमाले पकाएर ठीक पारिदिनुभएको गुन्द्रुक र भात खाएर हिजै ठीक पारेको झोलामा तरकारी र पुवा खाजा राखी हिँडेँ । त्यसबेलामा बाटामा किनेर पनि राम्रो खाजा खान नपाइने जमाना थियो । त्यसैले बिहानै खाना खाई खाजा समेत बोकी हिँड्ने गरिन्थ्यो । माघको दिन बिहान ५ बजेतिर अध्यारै हुन्थ्यो। त्यसैले राको बालेर घरकै सहयोगीको साथ लागेर बजारसम्म आएको थिएँ। बजारमा कोही बिहानै घरआँगन लिपपोत गर्न थालेका भेटिन्थे, कोही पानी लिएर आइरहेका र कोही गाग्रो बोकेर पानी लिन जानेको हुल नै हुन्थ्यो । भरेको गाग्रो देख्दा साइत पर्ने र खाली गाग्रो देखिँदा कुसाइत मानिने हुँदा खाली गाग्रो बोक्नेहरू बटुवाबाट छलिएर हिँड्थे। धनकुटा सिरान, बीच हुलाक टोल हुँदै सिरवानीको चिरबिरे चौतारामा पुगेपछि रिमरिम उज्यालो भएको थियो । हिँड्दै जाँदा घुमाउने चौतारामा पुग्दा भने पूरा उज्यालो भएको थियो । घुमाउने चौतारो धनकुटाको मिटिङ पोइन्ट थियो । धनकुटामा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न र बिदाइ गर्न जाने स्थान पनि यही घुमाउने चौतारो थियो।

घुमाउने चौतारो कसले बनाएको थियो, त्यो त थाहा भएन तर यसको संरक्षण र विस्तार सरकारी स्तरबाटै हुँदै आएको थियो । घुमाउने चौतारोबाट टेकुनडालोको ओरालो हुँदै रमितेडाँडा पुगिन्थ्यो । यस डाँडाबाट टाढा टाढासम्मको रमिता हेर्न सकिने हुँदा नाम नै रमिते डाँडा भएको हुनुपर्छ । पानीको अभाव भएकाले त्यहाँ जाँड किनेर खानेले मात्र पानी खान पाउँथे नत्र पानी पाउन मुस्किल थियो। ढाकरमा भारी बोक्नेहरूको मूल बाटो भएकाले सायद जाँडको खपत बढी हुने भएर होला। आजकलको जस्तो पानी बोक्ने तुम्लेट वा प्लास्टिकका पानी राख्ने भाडाको त्यतिबेला चलन नै थिएन । तुम्लेट त सर्वसुलभ पनि थिएन । बिहानको समय र बाटो पनि ओरालो हुँदा मलाई भने तिर्खा लागेको थिएन। रमिते डाँडाबाट झरेर धनकुटा खोला तर्नुपर्दथ्यो। यो खोला तमोरमा गएर मिसिन पुग्थ्यो । धनकुटा खोलाले बर्खामासमा ताण्डव नृत्य नै देखाउने हुँदा पानी परी बाढी आएको बेलामा खोला तर्न सकिने स्थिति हुँदैनथ्यो।

धनकुटा खोला तर्नेबित्तिकै मूलघाट (तमोर नदीको घाट) आउँथ्यो जहाँ सानो सानो बजार थियो । तमोर नदीका धेरै घाटमध्ये मुख्य घाट यही थियो । मूलघाटको तमोर नदीमा चन्द्रशमशेरले बनाएको झुलुङ्गे पुल पनि थियो। प्रारम्भमा कुनै शुल्क नलागे पनि २०२० सालदेखि चाहिँ यो घाट प्रयोग गर्नेले प्रतिव्यक्ति १० पैसा र प्रतिचौपाया २० पैसा शुल्क तिर्नुपर्दथ्यो । मूलघाटमा ठूलो आँपको बगैंचा थियो जुन तत्कालीन बडाहाकिम बमवीरविक्रम (जङ्गबहादुरका भाइ बमविक्रमका छोरा)ले लगाएका थिए । उक्त बगैंचा अद्यापि स्थानीय सरकारको आयस्रोत हुन पुगेको छ। मूलघाट दाहसंस्कार गर्ने केन्द्र पनि थियो । टाढाटाढाबाट दाहसंस्कारका लागि शव यहीँ ल्याउने चलन थियो । त्यसैले मानिस पाक्न मूलघाट जानुपर्छ भन्ने आहान नै चलेको थियो । हाल यसै स्थानमा विश्रान्ति मन्दिर निर्माण भएको छ। जुन पर्यटकहरूका लागि धनकुटाको आकर्षणकेन्द्र बन्न पुगेको छ ।

मूलघाटबाट तेर्सो बाटो सुरु हुन्थ्यो। मूलघाटबाट करिब १५ मिनेट हिँडेपछि उखुडाँडा आउँथ्यो। यहाँ बाह्रै महिना उखु खान पाइन्थ्यो । उखु खाँदै हिँड्दाको मजा त खुब हुन्थ्यो तर उखुको गुलियोले तिर्खा पनि लगाउँथ्यो। उखुडाँडाबाट लावरबोटे हुँदै लेउती खोलाको किनारै किनार एक घण्टा हिँडेपछि माखम फेदी आउँथ्यो । लावरबोटे भन्ने स्थानमा बमवीरविक्रमले नै रबरका रुख लगाएका थिए । त्यसैले यस स्थानको नाम नै लावरबोटे भयो तर हाल रबरको नामोनिशाना छैन । लेउती खोलाले बर्खामा उग्ररूप लिन्थ्यो । यसले यहाँको पुल त कति पटक बगायो बगायो । यस खोलाले यदाकदा तमोर नदीलाई नै थुनिदिने गरेको पनि सुन्न पाइन्छ।

त्यतिबेला अहिलेको जस्तो सामान ढुवानीका लागि यातायातका साधन थिएनन्। मानिसले नै ढाकरमा भारी बोकेर आवश्यक सामानको ढुवानी गर्ने गराउने गरिन्थ्यो। लेउती खोलाको छेउछाउ ढाक्रेहरूले दाउरामा खाना बनाइरहेका हुन्थे। पहेँलो मकैको च्याँख्ला र गुन्द्रुकको तिउन, झोलवाला तरकारी र राता खुर्सानीको अचार हेर्दै खाउँ खाउँ लाग्ने । कतै मकै र कोदाको ढिँडो ओढालिरहेको दृश्य देखिन्थ्यो । पूर्वी पहाड भोजपुर, चैनपुर, तेह्रथुम, ताप्लेजुङ अर्थात् मोरङदेखि ओलाङचोङगोला (भोटको सीमा)सम्मको मूल बाटो यही नै थियो ।

माखम फेदी पुगेपछि खोलाको छेउमा बसी घरबाट ल्याएको खाजा खाएपछि उकालो बाटो लागिन्थ्यो । यो बाटो निकै लामो, उकालो र कष्टकर थियो जसलाई धारापानीको उकालो भनिन्थ्यो । जुन साँगुरी भन्ज्याङमा पुगेपछि सकिन्थ्यो । उक्त उकालो आधा घण्टा जति उक्लेपछि ठूलो कटहरको रुख आउँथ्यो । त्यस ठाउँबाट धरान धनकुटाको दूरी बराबर भएको मानिन्थ्यो । मध्य घाममा पर्दा त जाडोको मौसममा पनि कष्टकै अनुभव हुन्थ्यो तर धरान पुग्ने, सिनेमा हेर्ने जस्ता कुरा सम्झदै हिँड्दा आनन्दकै अनुभूति हुन्थ्यो । फेदीबाट हिँडेको एकदेखि दुई घण्टासम्ममा धारापानी पुगिन्थ्यो । त्यस ठाउँमा लेखबाट आएको धाराको चिसो पानी खाँदा खुब आनन्द आउँथ्यो। धारापानीमा राईहरूको बाक्लो बस्ती थियो । पानीको सुविधा हुँदा राती बास बस्ने जक्सन नै धारापानी थियो। दाउरा, सातुसामल, नुनभुटुन किनेपछि पकाउने भाँडाकुँडा र सुत्नबस्न सुकुलगुन्द्री घरबेटीले उपलब्ध गराउँथे । ओड्ने ओछ्याउने चाहिँ आफैले बोकेर हिँड्नुपर्थ्यो ।

धारापानीदेखि एक घण्टा हिँडेपछि साँगुरी भन्ज्याङ आइपुगिन्थ्यो । यहाँबाट उकालो सकिएर अब ओरालो सुरु हुन्थ्यो । साँगुरीगढी सेन राज्यकालदेखिकै महत्त्वपूर्ण किल्ला थियो। जहाँबाट धरान बजारको सुन्दर दृश्य देखिन्थ्यो। धरान देखिएपछि खुट्टा आफसेआफ लम्किन्थे । साँगुरीगढीमा पानीको ज्यादै अभाव थियो पानी त चिउरीबासबाट ल्याउनु पर्दथ्यो। त्यसैले त्यहाँ चिया किनेर खाएमा मात्र एक गिलास पानी खान पाइन्थ्यो। साँगुरीबाट ओर्लिँदा बाटामा प्रशस्त दर्शनढुङ्गा भेटिन्थे। रातिको समयमा हिँड्दा झिल्का उठेको जस्तो देखिन्थ्यो । तिनै दर्शनढुङ्गाबाट नेपाली कागजमा चकमकको सहायताबाट आगो बालिन्थ्यो । धेरैले पेपर (कागजमा सुर्ती राखेर बनाउने एक प्रकारको धुम्रपान) खान्थे । पेपर धनकुटाको लोकप्रिय धुम्रपान थियो।

चिउरीबास राती बास बस्नका लागि उचित स्थान थियो, झर्नेभन्दा उक्लनेहरूका लागि । यहाँ पानीको राम्रो प्रबन्ध हुँदा बस्ती पनि बाक्लै थियो। तर, पछि पहिरोका कारण यहाँको बस्ती जोखिममा परेको देखिन्थ्यो। चिउरीबासबाट करिब १ घण्टा ओरालो झरेपछि धरानको सिरान फुस्रे बजार पुगिन्थ्यो। फुस्रेमा जताततै नुनका थुप्रा देखिन्थ्यो । पूर्वी पहाडबाट नुन लिन झर्नेको ताती नै हुन्थ्यो। जाडोयाममा गाउँ गाउँबाट ठूलै समूह नुन लिन आउने जाने गर्दथे। फुस्रे पुगेपछि एक किसिमले पैदल यात्रा सकिन्थ्यो।

धनकुटा-धरानको बाटो ८ कोस मानिन्थ्यो । ठाउँठाउँमा कोसको सूचना दिने कोसेढुङ्गा राखिएका हुन्थे । हिँड्ने मानिस त धरानबाट धनकुटा ६-७ घण्टामा पुग्ने गर्दथे भने धनकुटाबाट धरान जाँदा एउटा मात्र उकालो पर्ने हुँदा समय अलिक कम नै लाग्दथ्यो।

धरान धनकुटाको बाटो बाह्रै महिना चलायमान थियो । धरानबाट पूर्वी पहाडका सबै स्थानमा खाद्यान्नबाहेक अन्य सबै घरायसी वस्तुको आपूर्तिका लागि ठूला ठूला ढाकर बोकेका भरियाहरूको ताँती लाग्थ्यो । बाटोको ठाउँठाउँमा धर्मार्थ पार्टीहरु बनाइएका थिए । मूलघाट फेदी, धारापानी र चिउरीबास बास बस्नका लागि उपयुक्त मुख्य ठाउँहरु थिए । त्यतिबेला अहिलेको जस्तो बन्द शौचालयको अवधारणा नै थिएन । शौचालय खुल्ला मात्र थिए । खाना खुवाउने चमेनागृह थिएनन् लज त हुने कुरा नै भएन । तर, पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र धनकुटा भएपछि खाना खुवाउने बास बस्ने सुविधासहितका होटल लज आदि खुलेका थिए। मोटर बाटो निर्माण भएपछि हिँडुवा बाटो लेउतीको किनार बाहेक अन्यत्र बिरानो भयो । सायद बस्ती पनि कम हुँदै गयो होला। मूलघाट, चिउरीबास धारापानी त पुरै उजाडिएको छ । कुनै बेला यही बाटो हुँदै ओलाङचोङगोला भएर भोटमा नेपालबाट हात्ती पठाइएको थियो । मोरङदेखि भोटसम्म पुग्ने यो मूल बाटो आज एकादेशको कथा हुन पुगेको छ।