निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् । ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत माग उनीहरूले राखेका छन् । उनीहरूले माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।