पाल्पाको तानसेन : मेरो आकर्षणको केन्द्र

 

 

 

 

मैले पुण्य मन पराएँ या पाप मन पराएँ

जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ

‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘

 

तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ

हाम्रो हिसाब किताब सच्याउनु पनि छ

यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ

जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ।

 

डा राममान तृसितद्वारा रचना गरिएको र गोपाल योञ्जनद्वारा संगीत भरिएको स्वरसम्राट नारायणगोपालको यो गीत मलाई याद आइरहेको छ किनकि मैले पनि थाहा नै नपाई पाल्पा तानसेनलाई मन पराएँ। किन मन पराएँरु मलाई नै थाहा छैन तर तानसेन भन्ने ठाउँ बारम्बार पुग्न पाए हुन्थ्यो भन्ने लाग्दछ। अहिले पनि कसैले तानसेन घुम्न जाने प्रस्ताव गरे मबाट नामन्जुर हुँदै हुँदैन, नाइँ भन्न नै सकिँदैन। मलाई किन तानसेन मनपर्यो भन्ने प्रश्न आफैलाई सोध्दै जाँदा पूर्वस्मृतिका पानाहरू पल्टाउँदै जाँदा यो आलेख तयार हुन गयो। मेरा लागि जिउँदै स्वर्ग पुगेको स्थान तानसेनलाई नमन गर्दै मेरो तानसेनका स्वर्गीय अग्रज शुभेच्छुक एवं मित्रहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै यो लेख तिनै पाल्पाका महामानवहरुलाई समर्पण गर्दछु।

 

पाल्पा तानसेन नेपालकै एक गौरवपूर्ण अतीत भएको स्थान हो। इतिहासको विभिन्न कालखण्डमा पाल्पाको आफ्नै पृथक् पहिचान, महत्त्व र संस्कृति रहेको देखिन्छ। बाह्रमगरात अन्तर्गत पर्ने पाल्पा राज्य मध्यकालमा सबल राज्यमा गणना हुन्थ्यो। हालसम्म पनि मगर संस्कृति र उनीहरूको विविध विषयमा अध्ययन गर्ने उर्वर थलो पनि यही छ। यही राज्यको राजधानी रहेको तानसेन प्राचीन कालदेखि नै नेपालको राजनैतिक, सांस्कृतिक र आर्थिक गतिविधिको केन्द्र थियो। मगर राजाहरूलाई पराजित गरी पाल्पामा सेनवंशी राजाहरूको शासन सुरु भयो। मध्यकालमा नेपालको चौबिसी राज्यहरूमा पाल्पा शक्तिशाली र समृद्धशाली राज्यका रूपमा गणना हुन्थ्यो। खसिया मल्ल राज्यको अवसानपछि विशाल समृद्ध साम्राज्य खडा गर्न यो सेन वंश सफल भएको थियो। पाल्पादेखि पूर्वमा विजयपुर ९मोरङ०सम्म सेन वंशको राज्य विस्तार भएको थियो। मुकुन्दसेनको पालामा पाल्पाको शक्ति चरम उत्कर्षमा पुगेको थियो। मुकुन्दसेनपछि यो विशाल राज्य छोराहरूमा विभक्त हुँदा पाल्पा, तनहुँ, मकवानपुर, चौदण्डी, विजयपुर जस्ता टुक्रे राज्य र रजौटा सिर्जना हुन गए। पृथ्वीनारायण शाहका मावली पनि यिनै सेन थिए भने बहादुर शाहको ससुराली पनि तिनै सेनवंशी थिए। त्यसकारण पनि गोर्खाली राजाहरूले पाल्पासँग मित्रता नै गास्न खोजेका थिए।  भीमसेन थापाले भने पाल्पाका पृथ्वीपालसेनलाई छलकपट गरी बाङ्गो तरिकाले गोर्खाली साम्राज्यमा मिलाए। ९पाल्पाको इतिहास र संस्कृतिको जानकारी पाउने केही कृतिहरूमा कर्ण बानियाको ‘पाल्पाको इतिहास तथा संस्कृति’, २०७०स ‘इतिहास र संस्कृतिः पाल्पाको भगवती जात्रा’, २०५३स भवेश्वर पंगेनीको ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका १०० दिन’, २०४९स ‘नेपालको प्रशासनिक इतिहास भाग १२’, २०६५स विष्णुप्रसाद घिमिरेको ‘पाल्पा राज्यको इतिहास’, २०४५स तुलसीराम वैद्य र त्रिरत्न मानन्धरको ‘नेपालको प्रशासनिक इतिहास’ २०५३ हुन्।०

 

नव नेपालमा एकीकृत हुन पुगेको पाल्पाको हैसियत अन्य जिल्लाभन्दा फरक थियो। राणाकालमा आएर पाल्पाद्वारा शासित क्षेत्र पश्चिममा डोटीसम्म विस्तार थियो। रोलवाला राणा नै पाल्पाको तैनाथवाला हुने गरेको दृष्टान्त पाइन्छ। वीरशमशेर बडाहाकिम नै भएर पाल्पा पुगेका थिए। वीरशमशेरको पालामा रोल काटी खड्गशमशेर पाल्पा धपाइए र त्यहाँका तैनाथवाला बनाइए। यसैगरी १९९७ सालको काण्डमा परी रुद्रशमशेर पनि पाल्पा लखेटिए। यी दुवै निष्कासित राणा कमान्डर इन चिफले पाल्पाको साख जगाउन ठूलो योगदान गरेका थिए। यिनै राणाहरूसँग गएका व्यक्तिहरूले तानसेनलार्इ स्थायी थलो बनाउँदा पाल्पाको गरिमा बढ्न गएको थियो।

 

एकतन्त्रीय जहानिया राणाशासन विरुद्धमा पाल्पा खरो रूपमा उत्रिएको थियो। सो आन्दोलनमा पाल्पामा तैनाथवाला रुद्रशमशेरले साथ नदिएको भए २००७ सालको परिवर्तन आउन केही ढिला हुन सक्थ्यो। २००७ सालदेखि हालसम्म नै राजनीतिक क्षेत्रमा पाल्पाले आफ्नो विशेष उपस्थिति देखाएकै छ।

 

काठमाडौँ पश्चात् पहिलो हाइस्कुल र कलेज पाल्पाको तानसेनमा नै स्थापना भयो। शिक्षाको विकास र विस्तारमा मोफसलमा यो जिल्ला नै अग्रणी थियो। सोही स्थानमा अध्ययन गरी देशविदेशमा ख्यातिप्राप्त व्यक्तित्वको सूची तयार गर्ने हो भने निकै लामो हुन जान्छ। शिक्षा मात्र होइन संस्कृतिका क्षेत्रमा पनि तानसेन अग्रणी नै छ। जात्रा, पर्व, समारोह जस्ता उत्सव मनाउने कुरामा पाल्पालीको उत्साह जागर र समर्पण अरुका लागि पनि अनुकरणीय रहेको छ। समाजसेवाका विविध क्षेत्रमा पनि पाल्पालीलाई सितिमिति अरूले भेटाउन सक्दैनन्। रेडक्रस, नेत्र ज्योति संघ, परिवार नियोजन संघ जस्ता समाजसेवी संस्थाहरुमा पाल्पालीले आफ्नो सशक्त उपस्थिति देखाएको कुरा जगजाहेर छ।

 

आर्थिक गतिविधिमा पनि तानसेन प्राचीन कालदेखि नै अगाडि छ। कुनैबेला भोट ९मुग्लान०को व्यापारका लागि व्यापारिक केन्द्रविन्दु तानसेन नै थियो। भोटबाट उःन, नुन र सुन ल्याउन र भोटमा खाद्यान्न पठाउनमा पनि यहाँका व्यापारीहरुले नाम कमाएका थिए। तानसेन हिजो के थियो, आज के भयोरु यो सोधखोजको विषय बनेको छ। हिजोको जस्तो आज किन भएन भन्ने प्रश्नको उत्तर खोज्ने बेला पनि आएको छ कि जस्तो पनि लाग्छ। केवल मेरो अन्तरवस्तुसँग सम्बन्ध गाँस्न मात्र यी पृष्ठभूमि उल्लेख गरेको छु। हिन्दी टेलिसरियल चन्द्रकान्ता जस्तो भयो कि भन्ने पनि लाग्छ।

 

मूल विषयवस्तु हो( तानसेन मलाई किन मन परेको होरु यस विषयमा मेरा विचार प्रस्तुत गर्न खोज्दै छु। म सर्वप्रथम २०२५ साल माघ महिनामा तानसेन पुगेको हुँ। त्यस समयमा सुनौली पोखरा सिद्धार्थ राजमार्ग निर्माण हुँदै थियो। सोही बेला नेपालस्थित भारतका तत्कालीन राजदूत राजबहादुर राम्दीघाटमा कालीगण्डकीको पुल शिलान्यास गर्न आएका थिए। हामी धनकुटा कलेजका विद्यार्थीहरु शैक्षिक भ्रमणको सिलसिलामा भैरहवा पुग्दा तत्कालीन सहायक अञ्चलाधीश रत्नबहादुर गुरुङको सौजन्यबाट प्राप्त बसमा हामी राम्दीघाट पुगेका थियौँ। उक्त स्थानमा पहिलोपटक सञ्चालन भएको बसमा यात्रा गर्ने सौभाग्य हामीले नै पाएका थियौँ। उक्त शिलान्यास समारोहबाट फर्कँदा हामी तानसेन पस्यौँ। त्यसबेला सम्पर्क गर्ने आजको जस्तो सञ्चार माध्यम थिएन, बस स्टपबाट हामी त्रिभुवन कलेज पुग्यौँ। सोधखोज गर्यौँ त्यो समय कलेज जाडोको छुट्टी भएको बेला थियो। कसैसँग भेट भएन एक दुई स्थानीयसँग कुरा गर्यौँ,  हाम्रो परिचय र उद्देश्य बतायौँ। आश्चर्य, भयङ्कर आश्चर्य, यो कुरा गरेको एक कान दुई कान मैदान भयो, एक घण्टा बीचमा उक्त कलेजका विद्यार्थीहरू भेटघाट गर्न आइपुगे। खानपिन र बसोबासको समुचित व्यवस्था भयो। तानसेनमा भएका विद्यार्थी र शिक्षक भेला भई स्वागत समारोह आयोजना भयो। शिक्षकहरूमा माधवप्रसाद देवकोटा र धीरेन्द्रप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने विद्यार्थीहरूमा नवीनकुमार थैव, कृष्णप्रसाद शर्मा, वरुणविक्रम राणा, गमला खाती लगायत धेरै थिए। सबैको नाम याद भएन। हामीले जुन प्रेम सत्कार र मानमनितो पायौँ। यसले म १७ वर्षे बिए पढ्दै गरेको छात्रमा पाल्पाप्रति अमीट छाप रहन गयो। तिनै मित्रहरूले एक ट्रकको व्यवस्था गरिदिएपश्चात् भैरहवासम्म पुग्ने व्यवस्था मिल्यो भने वरुणजी हामीलाई छाड्न बुटवलसम्म नै आउनुभयो। कृष्णप्रसादबाहेक अरु मित्रहरूसँग पछि पनि भेट्न अनुकूल परेन, कता कता खल्लो लागेको छ।

 

तानसेनमा प्राप्त स्नेह र सद्भावको कुरा हामी तत्कालीन साथीहरू आजसम्म पनि गर्दै छौँ। एमए पढ्दा पाल्पाका गुणनिधि शर्मा, हरिबहादुर कार्की, भद्रकाली पन्त, भरत शर्मालगायतसँग मित्रता भयो। डा भरत शर्मा र डा हरिबहादुर कार्की जस्ता असल मित्रहरू असमयमा नै लोकबाट बिदा भए। उनीहरुको संगत, उठबस र भलाकुसारीबाट म तानसेनसँग अझ नजिकिएको महसुस गर्दै छु।

 

समय बलवान छ, जे लेखेको छ त्यही हुन्छ। चाहेर होस् वा नचाहेर होस्( म त्रिभुवन विश्वविद्यालयको सेवामा पुगेँ २०३१ सालमा। २०३३ साल आषाढमा पोखरामा पहिलो नेपाल परिचयको राष्ट्रिय अधिवेशन भयो। त्यस बेलामा त्रिभुवन बहुमुखी क्याम्पसकै विनोदप्रसाद श्रेष्ठसँग भेटघाट, कुराकानी तथा विषयगत विचारविमर्श भए। त्यसपछि विनोदजीसँग मृत्युपर्यन्त मित्रता रहिरह्यो। त्रिभुवन विश्वविद्यालय व्यापार प्रशासन वाणिज्यशास्त्र तथा जनप्रशासन अध्ययन संस्थान ९हालको व्यवस्थापन अध्ययन संस्थान० डिनको कार्यालयमा योजना तथा अनुसन्धान शाखामा २०३३ भाद्रदेखि २०३६ कार्तिकसम्म कार्यरत रहे। उक्त अवधिमा धीरेन्द्रप्रसाद श्रेष्ठ, विष्णुप्रसाद शर्मा, स्व पुष्पराज शर्मा ९त्रिभुवन क्याम्पसपछि ठाकुरराम हुँदै महेन्द्र मोरङ क्याम्पस पुगेका० मोहम्मद अफसार्क अन्सारी, छत्रराज शाक्य, पृथ्वीराज लिगल, गोपीकृष्ण शर्मा आदिसँग सहकार्य गर्ने अवसरबाट पाल्पासँग झन् नजिक हुन पुगेँ। २०३५ साल फागुन ७ गते त्रिभुवन क्याम्पसको रजतजयन्ती र २०५९ ९रु० सालको क्याम्पसको स्वर्ण जयन्ती समारोहमा समेत म सहभागी भएको घटना मेरो मानसपटलमा ताजै छ। विश्वविद्यालयको कामको सिलसिलामा म धेरैपटक तानसेन पुगेको छु।

 

श्रीनगरले श्री थपेको तानसेन नेपालकै पर्यटकीय नगर पनि हो। खड्गशमशेर र रुद्रशमशेरलाई पाल्पा धपाएर उनीहरूलाई अन्याय गरे तर उनीहरूले पाल्पालाई न्याय गरे। स्थानीय विकासका लागि उनीहरूको कार्य स्तुत्य छ। खड्गशमशेर पाल्पा नपुगेको भए न रानीमहल नै बन्थ्यो न त लुम्बिनीको अशोकस्तम्भ पत्ता लाग्थ्यो। यी राणाहरूका साथ लागी गएकाहरूले पाल्पालाई गुल्जार गरे। यस प्रसङ्गको चर्चा गर्दा नेवार संस्कृति र पर्वलाई संरक्षण र संवर्धन गर्न मोफसलमा नेवार संस्कृति परिचय गराउन उनीहरूको कार्यको सराहना गर्नै पर्दछ। पाल्पा तानसेनका टोल तथा बाटाघाटाले पनि काठमाडौँको स्मरण गराउँछन्। नेवार, खस र मगर संस्कृतिको त्रिवेणी हो तानसेन। यस्तो सुमधुर सम्बन्धलाई अक्षुण राख्ने चुनौतीलाई पाल्पालीले अवसरका रूपमा लिने अपेक्षा गरिन्छ।

 

त्रिभुवन बहुमुखी क्याम्पसलाई मुलुककै अब्बल शैक्षिक संस्था बनाउन धेरैको अनवरत परिश्रम समर्पण र लगानी रहेको छ। क्याम्पसको इतिहासले यसै भन्छ । स्व धीरेन्द्रप्रसाद श्रेष्ठ र स्व विष्णुप्रसाद शर्माको शैक्षिक नेतृत्वको प्रशंसा गर्नै पर्दछ। कुनै बेला नेपालकै मूर्धन्य व्यक्तित्व उक्त क्याम्पसबाट उत्पादित थिए। मैले अनुसन्धान कार्यमा संलग्न हुँदा व्यवस्थापनका तुलराज बस्याल, नरेन्द्र भट्टराई, श्रीकृष्ण श्रेष्ठ र जन्मजय बन्जाडेले त्रिभुवन विश्वविद्यालय टप गरेको पाएको थिएँ। तुलराज बस्यालबाहेक कालान्तरमा अरुसँग भएको भेटघाटको सम्झना छ।

 

मेरा विद्यार्थीहरू कमलराज रेग्मी, ज्ञानेन्द्र पौडेल, सौन्दर्य शाक्यलगायत त्रिभुवन क्याम्पस पाल्पामा नै प्राध्यापन पेशामा संलग्न हुँदा उनीहरूकै आग्रहबाट धेरै पटक तानसेन पुगेको सम्झना छ। अब त सौन्दर्य शाक्यलगायत केही सेवानिवृत्त भइसके। नेपाल नेत्र ज्योतिष संघमा कार्यरत हुँदा पाल्पाका धेरै समाजसेवीसँग नजिकको सम्पर्कमा रहेँ, हालसम्म पनि धेरैसँग नजिकै छु भन्ने भान हुन्छ। स्व गणेशमान महर्जन, स्व राधा भारती, स्व चकोरमान शाक्य, स्व नारायण शर्मालगायतसँगको सहकार्य मेरा लागि सदैव स्मरणीय रहेको छ। यसैगरी स्व विष्णुप्रसाद, स्व धीरेन्द्रप्रसाद, स्व विनोदप्रसाद जस्ता व्यक्तित्वको प्रसाद पाउन म चुम्बकमा फलाम टाँसिएझैँ बारम्बार तानसेनमा विभिन्न बहानामा तानिइरहन्थेँ। मेरा अभिन्न मित्र डा हरिबहादुर कार्की त जहिले पनि पाल्पा कहिले जाने हो भन्ने वाक्यबाट भलाकुसारी सुरु गर्दथे। यी सबै मित्रहरू गुमाउँदा मलाई कता कता तानसेन बिरानो हुन्छ कि भन्ने डरले सताउने गर्दछ। पाल्पा तानसेनमा हिजो ती मित्रहरूको आग्रहमा उनीहरूसँग भलाकुसारी गर्न उक्त ठाउँमा धेरै पटक पुगियो। अब ती मित्र पनि रहेनन्। खातिरदारी गर्ने नहुँदा २०७६ सालपछि तानसेन भ्रमण गर्ने जोहो मिलेकै छैन। तर, पुग्ने घुम्ने इच्छा भने मरेको छैन तानसेन प्रकृतिले वरदान दिएकै ठाउँ हुँदै हो तर मैले चर्चा गरेका दिवंगत शुभेच्छुक मित्र अग्रजहरूको कारणले मलाई उक्त स्थान मन परेको हो कि जस्तो लागेको छ।

 

तानसेनको परम्परागत करुवा बनाउने प्रविधिमा क्रमशः ह्रास आउँदै गएको सन्दर्भमा मेसिनबाट करुवा बनाउने प्रचलनबाट परम्परागत सीप हराउने हो कि भन्ने आशंका छ। पाल्पाली ढाकाले भने आफ्नो लोकप्रियतालाई कायमै राखेको देख्दा खुसी लाग्छ। पाल्पाली ढाकाले गणेशमानजीलाई अमर बनाएको छ। पाल्पालाई शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष ध्यान दिनुपर्ने वर्तमान आवश्यकता हो कि जस्तो पनि लाग्छ। तानसेनकै गहनाको रूपमा प्रतिष्ठित आँखा अस्पतालले अन्धोपना निवारणको कार्यमा उल्लेख्य प्रभावकारी कार्य गर्दै छ। यसको विकासमा ध्यान दिएमा तानसेनकै रौनक बढ्नेछ। लुम्बिनी मेडिकल कलेजले पनि तानसेनलाई ३ चाँद लगाएको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब्बल बनाउने सम्भावना धेरै छन् ।प्रकृतिले त तानसेनलाई वरदान नै दिएको छ। यी सबै पूर्वाधार सृजना भएमा पर्यटन उद्योग अझ फस्टाउने थियो।

 

तानसेन पाल्पा नेपालको गहना हो, यस गहनालाई जगेर्ना गर्नु सबैको कर्तव्य हो। पाल्पाले जसजसलाई बनायो, चिनायो, मलजल गर्यो र हुर्कायो तिनैबाट पाल्पाको गौरव राख्नुपर्ने दायित्व हुन आउँछ। नत्र त पाल्पाले हिजोको दिन सम्झेर कति दिन बाँच्नेरु ‘खोला तर्यो लठ्ठी बिर्सियो’ भन्ने आहान चरितार्थ हुँदै गएको वर्तमान सन्दर्भमा तानसेनको साख जगाउने कार्यमा भित्रका भन्दा बाहिरका पाल्पालीजनहरुले दत्तचित्त हुनुपरेको छ। मेरा लागि पाल्पा हिजो पनि आकर्षणको केन्द्र थियो, आज पनि छ र भोलि पनि हुने विश्वास लिन कठिन नपरोस्। आगे प्रभु इच्छा। अस्तु १

 

यो स्मरण लेख्न परोक्ष रूपमा प्रेरित गर्ने बहिनी सरस्वती भारती न्यौपानेप्रति हार्दिक साधुवाद