प्राध्यापकहरूको लापरबाहीले एसईई र १२ कक्षाको नतिजा प्रकाशन ढिलाइ हुन्छः महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र १२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताएका छन् ।

आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए ।

मन्त्री पुनले विश्वविद्यालयहरूबीच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको पनि बताए । उनले भने, ‘एसईई र १२ कक्षामा जम्मा ४–५ लाख विद्यार्थी मात्र हुन्छन् । तर, पनि नतिजा निकाल्नका लागि ८–९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ ।’