केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको छ।

शनिबार बिहान गुन्डु बाट पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमै राखेर उपचार गर्न सुझाव दिएका छन्। यही सिफारिसका आधारमा सरकारी वकिल कार्यालयले उनलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं आसपास सुरक्षा सतर्कता बढाइएको छ र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। उक्त प्रकरणमा शनिबारै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ। ओली र लेखक दुवैलाई भदौ २३ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।