पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । आज बिहान उनको मुटुसम्बन्धी उपचारअन्तर्गत पेसमेकर परिवर्तन गरिएको चिकित्सकहरूले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पहिले बैंककमा पेसमेकर राखिएको थियो । समयसँगै उक्त उपकरणको ब्याट्री सकिएपछि नयाँ पेसमेकर जडान गरिएको हो । चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर छ । शाहलाई आगामी दुई-तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ ।
पेसमेकर मुटुको चाल नियमित राख्न प्रयोग गरिने उपकरण हो । मुटुले आवश्यक गतिमा धड्कन उत्पन्न गर्न नसक्दा यस्तो यन्त्र शरीरमा राखिन्छ । यसले मुटुको धड्कन सन्तुलनमा राख्न सहयोग गर्छ र बेहोस हुने वा रिँगटा लाग्ने जस्ता समस्या कम गर्न मद्दत गर्छ ।


















