संघीय संसदको प्रतिनिधि सभा अधिवेशन आजबाट सुरु हुँदैछ । तर, आजको पहिलो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएका छन् । उनको सट्टा पार्टीका नेता वर्षमान पुनले संसदमा सम्बोधन गर्ने जानकारी पार्टी कार्यालय सचिव गोविन्द आचार्यले दिएका छन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरू सहभागी हुने यो अधिवेशन दिउँसो २ बजे सुरु हुनेछ ।
विगतको अभ्यासअनुसार पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले सम्बोधन गर्नेछन्।
त्यस्तै, एमालेका रामबहादुर थापा ‘बादल’, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ तथा राप्रपाका ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्ने कार्यक्रम छ । शुभकामना मन्तव्यका लागि दलहरूको संसद्मा रहेको सिट सङ्ख्याको आधारमा समय बाँडफाँट गरिएको संसद् सचिवालयले जनाएको छ।


















