नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले प्रेस स्वतन्त्रता विश्वव्यापी रूपमा अझै जोखिममा रहेको उल्लेख गर्दै यसको संरक्षणका लागि वर्तमान पुस्ताले निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
मिश्रले प्रेस स्वतन्त्रतालाई संविधानमा लेखेर मात्र नभई व्यवहारमा उतारेर संरक्षण गर्नुपर्ने बताए । उनले दुईतिहाइ नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको सहारा लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । संसदमा हरेक कानुन विधेयकका रूपमा प्रस्तुत गरी पर्याप्त छलफलपछि मात्र कानुन बन्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, योग्यताका आधारमा आएका पदाधिकारीहरूलाई अध्यादेशमार्फत रातारात पदमुक्त गर्नु लोकतान्त्रिक पद्धतिविपरीत भएको उनले बताए।


















