नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन् । चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेकोमा असन्तुष्टि जनाएका हुन् ।
बागमती भेलामा केही नेताहरूले ओलीको बिदाइको माग गरेका थिए । ओलीले पार्टीको पुनर्संरचना भनेको कोही मन्छेलाई अदलबदल गर्दैमा नहुनेमा जोड दिएका थिए । ‘कोही मान्छे अदलबदल गरेर मात्र पार्टी पुनर्संरचना हुँदैन’, ओलीले भनेका छन्, ‘हामीले हाम्रो सिङ्गो कार्यशैली, विधि र पद्धतिलाई बिचमा लुज गरेका हौँला अब त्यसलाई ठिकठाक गर्नुपर्छ र एक ढिक्का भएर जानुपर्छ ।’

















