नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुराना राजनीतिक दलहरूमाथि लाग्दै आएको पुरानो र असक्षम भन्ने आरोपको प्रतिवाद गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद भीमकुमारी बुढाले पुराना दलका नेताहरूको शारीरिक अवस्था र समयलाई लिएर पुरानो भनिए तापनि उनीहरूको विचार र योगदान सधैँ नयाँ र सान्दर्भिक रहने बताइन् ।
सदनमा बोल्दै सांसदले पछिल्लो समय नयाँ भनिएका शक्तिहरूले सङ्घीयता र लोकतान्त्रिक उपलब्धिहरूलाई उपहास गरिरहेको भन्दै आपत्ति जनाइन् ।
‘सङ्घीयता कुनै फुमन्तर गरेर वा टिकटक बनाएर आएको होइन,’ उनले भनिन्, ‘यो हजारौँ शहीदहरूको रगतले साटेर ल्याइएको उपलब्धि हो । यसमाथि ठट्टा नगरियोस् । हामी बाँचिरहेका छौँ, हाम्रा विचारहरू नयाँ छन् र सधैँ नयाँ रहनेछन् ।’


















