नागढुंगा सुरुङको शिलान्यासको शिलालेख पुन:स्थापना गर्छौं: मन्त्री लम्साल

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्ने खोला सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गर्ने बताएका छन् ।सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख राखिने जानकारी दिएका हुन् । २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी–२ टुटीपाखामा सुरुङमार्गको शिलान्यास गरेका थिए ।

तर, सुरुङमार्गको डिजाइनअनुसार काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको ठाउँमा सीसी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएकाले उक्त शिलालेख एक वर्षअघि नै हटाइएको सडक विभागले जनाएको छ ।

उक्त शिलालेख निकालेर त्यसबेला बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको थियो । जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा क्षति भएसँगै उक्त शिलालेख पनि जलेर नष्ट भएको विभागले स्पष्ट पारिसकेको छ ।