कृष्णप्रसाद सिटौलाको प्रश्न- ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसद चलिरहेको समयमा मुलुकमा उत्पन्न विषयहरुमा प्रधानमन्त्रीले संसदमार्फत नागरिकलाई सम्बोधन गर्न नचाहाँदा गम्भीर आशंका उत्पन्न भएको बताए ।

उनले किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीले पारदर्शी र उत्तरदायी भएर काम किन कठिनाई भइरहेको छ भन्ने कुरा भन्न सक्नुपर्ने बताए । सरकारलाई मुलुक र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने कुरामा आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सिटौलाले सरकार मुलुकमा अन्य दुई वटा सरकार छन् भन्ने कुराको समेत हेक्का राख्नुपर्ने बताए । मधेशमा उत्पन्न तनावको समस्या गर्न मधेस प्रदेश सरकारसँग संघ सरकारले आवश्यक समन्वय गर्न नसकेको उनले बताएका छन् ।